दसैंतिहार र निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ

धनगढी, २ असोज । कैलालीमा नेपाल भारतको दुई देशीय सीमा समन्वय समितिको बैठक मंगलबार धनगढीमा बसेको छ । बैठकले दुई देशको सीमामा कडा चेकिङ गर्ने निर्णय गरेको छ ।

दुई देशका सीमा सुरक्षाका उच्चसुरक्षा अधिकारी र प्रशासकहरू सम्मिलित बैठकले दसैंतिहार र आगामी मंसिर ४ मा हुने संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै सीमामा कडा सुरक्षा व्यवस्था गर्ने निर्णय गरेको हो ।
भारतको उत्तरप्रदेश र नेपालको तर्फबाट कैलाली तथा कञ्चनपुरका सुरक्षा अधिकारी र स्थानीय प्रशासकहरूको बैठकमा सहभागिता रहेको थियो । बैठकमा सीमामा हुने अपराध र चुनावको बेला सीमानाबाट हुन सक्ने खतरा नियन्त्रण गर्न गम्भीर रूपमा छलफल भएको कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए
उनले संविधानसभाको निर्वाचनको बेला बोर्डर सिल गर्नेसम्मको कडाई गर्ने विषयमा समेत छलफल भएको जानकारी दिए । बैठकपछि नेपालका सुरक्षा अधिकारीहरूले सीमामा हुने अपराध नियन्त्रणमा सहजता हुने विश्वास व्यक्त गरेका छन् ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन जोशीले दसैँतिहारका बेला सीमामा नेपालीहरू लुटिने गरेका विषयमा पनि छलफल भएको र त्यसलाई रोकथाम गर्न दुवै देशले सजगता अपनाएर सहज बनाउने सहमति भएको बताए ।
बैठकमा भारतीय अधिकारीहरूले दसँैतिहार र संविधानसभा निर्वाचनमा भारतीय नाकाबाट कुनै अपराधिक गतिविधि र असहज वातावरण हुन नदिन हरदम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले सीमा हुने जुनसुकै अपराधिक गतिविधि रोक्न आफूहरू जतिबेला पनि तयार रहेको नेपाली अधिकारी समक्ष बताएका थिए ।
बैठकमा नेपालको तर्फबाट प्रहरी नायव महानिरीक्षक नारायणप्रसाद बास्ताकोटी, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक वसन्त बानियाँ, सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लव बिष्ट, महाकाली अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशी, कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकलगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति थियो ।
भारतको तर्फबाट खिरी जिल्लाका डिस्टिक मेजेस्ट्रिक सुरेन्द्र विक्रम, एसपी प्रशान्त कुमार, पिलिभिटका डिस्ट्रिक मेजेस्ट्रिक आनन्द कुमारलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया