उम्मेदवारलाई दालभात / राजनीतिक गफ

CP-Gajurel-Souryadailyकाठमाडौं, १ असोज । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आगामी चुनावमा उम्मेदवारी दिन खोज्ने नेताहरुलाई कब्जामा लिएर मनोनयन दर्ता गर्न नदिने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा गजुरेलले आफूहरुलाई बाईपास गरेर गरिने संविधानसभा निर्वाचनका उम्मेदवारलाई कब्जामा लिएर मनोनयन दर्ता गर्न नदिने बताए ।
‘मनोनयन दर्ता गर्न नदिएपछि निर्वाचन नै हुँदैन,’ उनले भने, ‘मनोनयन दर्ता गर्न खोज्नेहरुलाई नियन्त्रणमा बन्द कोठामा दालभात खुवाउँदै राजनीतिक गफ गरेर राख्छौ ।’ गजुरेलले मनोनयनको समय सकिएपछि उम्मेदवारलाई फूलमाला लगाएर सम्मानपूर्वक विदाई गर्ने बताए ।
उपाध्यक्ष गजुरेलले यथास्थितिमा संविधान लेख्न भन्दा पनि मुलुकलाई सिक्किमीकरण गर्न निर्वाचन गर्न लागिएको दावी गरे । उनले भने, ‘अहिलेको निर्वाचनमा उम्मेदवार बन्नेहरु सबै लेण्डुप दोर्जे हुने छन् ।’
उनले नेपालको ईतिहासमा अहिलेसम्म कहिल्यै पनि नभएको बहिस्कार अबको चुनावमा गरिने बताए । उनले भने, ‘तपाईहरु ढुक्क हुनुस् चुनावै नहुने गरी बहिस्कार हुन्छ ।’

प्रतिक्रिया