कायरतापूर्ण कार्य

माओवादी वैद्य पक्षका कार्यकर्ताले यात्रु बस जलाएर द्वन्द्वकालको आततायी यात्रा पुन: सुरु गरेको सूचना दिएका छन् । गत आइतबार काभ्रेमा यात्रु बोकेर गुडिरहेको बस रोकेर आगो लगाउने काम चितवन भण्डारा काजोल खातुन काण्डको पुनरावृत्ति थियो । फरक यति हो त्यहाँ काजोलको मृत्यु भएको थियो, भने यहाँ मानिस भागेर बचेका थिए । कम्युनिष्टहरूले निर्दोष मानिसलाई पीडा पुर्‍याउँदैनन् र मार्ने काम पनि गर्दै गर्दैनन् । तर, नेपालमा कम्युनिष्टकै नाम कलंकित पार्ने गरी क्रुरतापूर्ण तरिकाले आततायी घटना दोहोर्‍याइँदै छ । यस्ता घटना बारम्बार हुनु भनेको कम्युनिष्टहरूप्रति जनमानसमा नकारात्मक भावना उत्पन्न गराउनु हो । माओवादीले द्वन्द्व कालको थालनी गरेपछि राज्य पक्ष र विद्रोही पक्ष दुवैतर्फबाट निर्दोष जनता मार्ने काम भएको थियो । त्यसताका सुरक्षा निकायले खारा, दोरम्बालगायत स्थानमा पासविक यातना दिएर मानिस मार्ने काम गर्‍यो । त्यसै गरी माओवादीले चितवन बाँदरमुडे, भण्डारा, लम्जुङलगायतका स्थानमा आफ्नो राक्षसीपना देखायो । अहिलेसम्म यहाँको पीडा आलै छ । शान्ति सहमति भएको आठ वर्षपछि आएर पुन: त्यस्तै घटना दोहोर्‍याउन खोज्नु अक्षम्य अपराध नै हो । काभ्रे घटनाका अपराधीले कुनै पनि हालतमा छुट पाउनु हुँदैन उनीहरूलाई पक्राउ गरेर मौजुदा कानुनअनुसार कारबाही गर्नैपर्छ ।
कसैले बन्द गरेको छ भन्दैमा अवज्ञा गर्नेको सामूहिक हत्या गर्नेसम्मको योजना बनाउँछ भने त्यो जघन्य अपराध हो । त्यस्तो कार्यगर्ने राजनीतिक पार्टी हुन सक्दैन । त्यो आतंककारीको जत्था मात्र हुन्छ । यदि वैद्य माओवादीले शान्ति प्रक्रियाबाट अलग भएको, वर्तमान व्यवस्था नै उल्टाउन खोजेको र लोकतन्त्र अमान्य भएको घोषणा गर्छ भने त्यसप्रति सबैले फरक ढंगले सोच्नु पर्ने हुन्छ । अन्यथा यतिसम्म तल्लोस्तरमा ओर्लिएर बर्बरतापूर्ण घटना दोहोर्‍याउनुभएन । पकै पनि राजनीतिमा विमतिहरू हुन्छन् । त्यसलाई वार्ता सम्बाद र छलफलद्वारा समाधान गर्ने कोसिस गर्नुपर्छ । तर, आइतबारको काभ्रे घटनाले अब मोहन वैद्य पक्ष आफूलाई क्रान्तिकारी देखाउन निन्दनीय र अक्षम्य कार्य गर्न लाग्दै छ भन्ने सन्देश दिएको छ । जुन कार्यले उसलाई राजनीतिक पार्टीको रूपमा त रहन दिने छैन नै जनता सामु पनि जान दिने छैनन् । आफू सानो दल भएको, दाहालको पार्टीको मात्र बोलबाला रहेको देखेर वैद्य पक्ष हिनताबोधले ग्रस्त देखिन्छ । यदि राजनीतिक दल हो भने वैद्य पक्षले आफूलाई हिनभावनाले ग्रस्त पार्नु हुँदैन । हिम्मत साथ जनताका पक्षमा काम गर्न थाल्नु पर्छ । यसले मात्र दलको अस्तित्व कायम राख्छ । अन्यथा १० वर्षे द्वन्द्व समाप्त गरे जस्तै आफू पनि समाप्त हुने काम गरेको ठहरिनेछ । मोहन वैद्य जस्ता नेताले यस विषयमा गम्भीर बन्न सक्नै पर्छ ।
वर्तमान विश्वले मानव हत्यालाई जघन्य र अक्षम्य अपराध ठान्छ । नेपालमा पनि यस खाले कार्य गर्नेलाई असामाजिक तत्त्व, व्यक्ति हत्यारा र राष्ट्रको शत्रु ठान्ने गरिएको छ । यस्तो हुदाँहुदै पनि यस्तै घटनाको पुनरावृत्ति किन गरिन्छ ? यो विषय बुझी नसक्नु बन्दै गएको छ । अब व्यक्ति हत्या गरेर वा हिंसा चर्काएर राजनीति हुँदैन । राजनीति जनताको मन जितेर हुन्छ । गुडिरहेको बस रोकेर यात्रुसमेत ओर्लन नदिई पेट्रोल छर्किएर बस जलाउनेले न राजनीति गरेको ठहर्छ न त बन्द गरेकै भन्न सकिन्छ । त्यो केवल समूहगत रूपमा मानव हत्याको सुनियोजित योजनाअन्तर्गत गरिएको कायरतापूर्ण कार्य भएको ठोकुवा गर्न सकिन्छ । तसर्थ कुनै पनि राजनीतिक दलले काभ्रे घटना दोहोर्‍याउने निन्दनीय काम रोक्नुपर्छ । क्रुरताको बर्बरतापूर्ण घटना दोहोर्‍याइन्छ भने राज्य चुप लागेर बस्नु हुँदैन । नागरिकको जिउ–धनको सुरक्षा गर्न नसक्ने राज्य–राज्य भन्न लायक रहँदैन । तसर्थ सरकारले यस घटनालाई गम्भीरता पूर्वक लिँदै दोषीमाथि कारबाही गर्नुपर्छ । अन्यथा अपराधीको मनोबल बढ्नेछ ।

प्रतिक्रिया