शिक्षक सेवा आयोगको नतिजा पुसअघि नै

काठमाडौं, १ असोज । शिक्षक सेवा आयोगले चार महिनाअगाडि लिएको स्थायी शिक्षक पदको उत्तरपुस्तिका परीक्षण गर्ने कार्य धमाधम गरिरहेको छ ।
आयोगले दसँैअघि नै उत्तरपुस्तिका परीक्षण सकिसक्ने लक्ष्य राखेको छ ।  यसका लागि आयोगले ८ भदौबाट ४ सय ५० जनशक्तिबाट ४ ठाउँमा कापी परीक्षण गराइरहेको छ ।
प्रशासकीय प्रमुख खगेन्द्र नेपालका अनुसार कापी परीक्षण असोजसम्म सिध्याएर मंसिरसम्म नतिजा प्रकाशन गर्ने तयारीमा आयोग रहेको छ । उनका अनुसार ७ न्यूनतम वर्ष स्थायी भएको,  शिक्षा सेवामा न्यूनतम ७ वर्ष काम गरेको, विश्वविद्यालयका उपप्रध्यापकदेखि माथिका शिक्षक र मावि निवृत्त शिक्षक र शिक्षा सेवाका निवृत अधिकृतबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।
प्रत्येक उत्तरपुस्तिकाको तीनपटक कोडिङ गरी विज्ञहरूले परीक्षण गरिरहेका छन् । ‘हामीमा कापी परीक्षण सकाएर तिहारपछि निर्वाचन आयोगसँग अनुमति मागेर नजिता प्रकाशन गर्छौँ,’ उनले भने, ‘अनि मंसिरभित्र मौखिक परीक्षा लिई पुषमा विद्यालयमा योग्य शिक्षक दिनेछौँ ।’
आयोगले नतिजा एकैपटक प्रकाशन नगरेर क्रमश: निकाल्दै जानेछ  । आयोगका उपसचिव नारायण भट्टराईले एकैपटक निकाल्दा समस्या आइपर्ने भएकाले क्रमश: नतिजा निकाल्दै जाने बताए । आयोगले लिखित परीक्षाको नतिजा निकालेको एक महिनापछि मौखिक परीक्षा लिनेछ । लिखितमा आवश्यक संख्याको २० प्रतिशत बढी परीक्षार्थीलाई उत्तीर्ण गराउनेछ ।
भट्टराईका अनुसार प्रावि, निमावि र माविको विषयगत र जिल्लागत रूपमा क्रमश: प्रकाशन गरिनेछ  । परीक्षामा ४ लाख ८० हजार ६ सय २० ले आवेदन दिए पनि ४ लाख १३ हजार २ सय ६९ जना परीक्षामा सहभागी भएका थिए । उपसचिव भट्टराईका अनुसार माविमा ५२ हजार ७ सय ५६, निमाविमा १ लाख ४३ हजार ३ सय १९ र प्राविमा २ लाख १७ हजार १ सय ९४ परीक्षार्थी सहभागी भएका थिए । माविमा ६१ हजार ३ सय ३७, निमाविमा १ लाख ६७ हजार १ सय ८५ र प्राविमा २ लाख ५२ हजार ९८ जनाले आवेदन दिएका थिए ।
शिक्षक सेवा आयोगले १७ वर्षपछि खुला गरेको स्थायी शिक्षकका लागि  तिनै तहमा गरी १२ हजार ८ सय ९० जना माग गरिएको भए पनि मुलुकभर ४ लाख १६ हजारले परीक्षा दिएका थिए । आयोगले प्राथमिक तहमा ७ हजार ८ सय ७७, निम्न माध्यमिक तहमा २ हजार ७ सय ६७ र माध्यमिक तहमा २ हजार २ सय ४६ शिक्षकलाई स्थायीका लागि २० पुषमा  विज्ञापन गरेको थियो ।
आयोगले २०७० सालको ९ जेठमा माध्यमिक तह, १० मा निम्नमाध्यमिक र ११ मा प्राथमिक तहको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाका लागि पाँचै विकास क्षेत्रमा भिन्नभिन्न प्रकारको प्रश्नपत्र सोधिएको थियो ।

प्रतिक्रिया