भूकम्पीय दृष्टिले राजधानी उपत्यका जोखिमपूर्ण

भक्तपुर, १ असोज । बढ्दो सहरीकरणका कारण काठमाडौं उपत्यका भूकम्पीय दृष्टिले बढी जोखिममा छ । त्यसकारण भूकम्पको प्रभावबाट कमभन्दा कम नोक्सानी हुने उपाय सोच्नु र अपनाउनुपर्ने समय भइसकेको छ ।
खानी तथा भूगर्भ विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाजद्वारा सोमबार भक्तपुरको नगरकोटमा आयोजित चारदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै विज्ञान, प्रविधि तथा वातावरण र सिँचाइ मन्त्री उमाकान्त झाले उक्त कुरा बताएका हुन् ।
‘दक्षिण तथा मध्यएसियाको भौगर्भिक अवस्थिति तथा भूकम्पीय प्रकोप अवस्था’ विषयक चारदिने कार्यशाला गोष्ठीमा नेपाल, भारत, चीन, फ्रान्स, बंगलादेश, भुटान, अफगानिस्तान, पाकिस्तान, ताजिकिस्तानलगायत १५ देशका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले दक्षिण एसिया र मध्यएसियामा भुइँचालोले हुने क्षतिका सम्बन्धमा र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि क्षेत्रीयस्तरले बुझ्न तथा एक आपसमा पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको जानकारी दिए ।
अमेरिकी राजदूत पिटर डब्लु बोडले भूकम्पीय जोखिम न्यूनीकरणका सम्बन्धमा एक आपसमा विचार तथा सहयोग आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यशाला गोष्ठी सबै देशका लागि उपयोगी हुने बताउँदै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरे ।
भुइँचालोले कुनै राष्ट्रको सीमालाई हेर्दैन, भुइँचालोले क्षेत्रीयस्तरमा भौतिक रूपमा असर पार्छ र आर्थिक रूपले विश्वव्यापी रूपमा समेत असर हुन्छ ।
दक्षिण एसिया र मध्यएसियाको भुइँचालोको प्रकृति बुझ्न र त्यस क्षेत्रका वैज्ञानिक र यहाँका वैज्ञानिकको अर्थ एक आपसमा बुझ्न कार्यशाला उपयोगी हुने र हरेक देशका वैज्ञानिकबीच एक आपसमा परिचित भई सहयोग आदानप्रदान हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा ताजिकिस्तान, अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, बंगलादेश र चीनका प्रतिनिधिले आ–आफ्ना देशको भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

प्रतिक्रिया