सर्वोच्चलाई दाहालको जवाफ

काठमाडौँ, १ असोज । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अदालतको मानहानी गर्ने आफ्नो कुनै पनि मनसाय नरहेको बताएका छन् । अध्यक्ष दाहालले आफ्ना वारेस मुकुन्द न्यौपानेमार्फत सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका थिए । उनले अदालतको मानहानी गर्ने आफ्नो मनसाय नभए पनि राजनीतिक कुरालाई कानुनी रूप दिन बदनियतपूर्ण तबरले रिट निवेदन दायर गरिएको उल्लेख गरेका छन् ।
एक सार्वजनिक कार्यक्रममा अदालतको मानहानी गरेको भन्दै अध्यक्ष दाहालविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए । अध्यक्ष दाहालले रिटमा अदालतको नाममा आफ्नो स्वार्थ पूरा गर्न र मनोवैज्ञानिक दबाब दिन काल्पनिक कुरा उठाएको दाबी गरेका छन् ।
अदालतको कुनै जात, धर्म तथा  लिंग हुँदैन र अदालत सबैको हो भन्ने अभिव्यक्तिलाई तोडमोड गर्ने गराउने तथा संघीय गणतन्त्र, धर्म निरपेक्ष, समावेशी, समानुपातिक राज्य व्यवस्थासहितको नयाँ नेपालका विरोधीको सञ्जालबाट न्यायपालिकालाई विवादग्रस्त बनाउने योजनाबमोजिम रिट हालिएको जवाफमा उल्लेख छ ।
जनयुद्धकालका घटनाको छानबिन विस्तृत शान्तिसम्झौता र नेपालको अन्तरिम संविधानअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्छ भन्ने धारणा राख्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले जवाफमा उल्लेख गरेका छन्, ‘जनयुद्धकालका घटनाको अनुसन्धानका नाममा अर्को संविधानसभाको निर्वाचन बिथोल्ने उद्देश्य रिटमा अन्तर्निहित रहेको छ ।’
कस्तो परिस्थितिमा अदालतको अवहेलना हुन सक्दैन भनी पूर्वप्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालाविरुद्धको निवेदनमा यसै अदालतबाट विस्तृत व्याख्या भएको स्मरण गराउँदै उनले अनर्गल निवेदनबाट कारबाही नभई फुर्सद पाउन माग गरेका छन् ।

प्रतिक्रिया