काठमाडौं, ३० भदौ । नेपाल आर्मी क्लबका सरादेवी तामाङ र नंशल तेस्रो लिनिङ पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिग खेलमा सराले एपिएफकी सविना पन्थीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरिन् । जितसहित उनी समूह ‘बी’को विजेता बनिन् । सविना पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगिन् ।
नंशलले एपिएफकी शिक्षा श्रेष्ठको चुनौती २१–१५ र २२–२० को नतिजामा समाप्त पारिन् । सेमिफाइनलमा नंशलको भेट एपीएफकी सविनासँग हुनेछ भने सराले आर्मीकै अमिता गिरीविरुद्ध खेल्नेछिन् ।
नेपाल खेलकुद महासंघ र महासंघअन्तर्गतकै राष्ट्रिय ब्याडमिन्टन संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा आर्मीका दिपेश धामी, एपीएफका साजनकृष्ण ताम्राकार, आर्मीका विकास श्रेष्ठ र आर्मीकै रत्नजित तामाङले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
दिपेशले एपीएफका इन्द्र महतालाई २१–१५ र २१–१८ ले हराए । साजनले भोजपुरका विवेक श्रेष्ठलाई २१–१६ र २१–८ ले पराजित गरे । जितसँगै साजन समूह ‘सी’को विजेता भए । विवेक पनि समूह उपविजेताका रूपमा क्वाटरफाइनल पुग्न सफल भए ।
विकासले एपिएफका पंकज चन्दलाई २१–१०, १६–२१ र २१–१३ को सेटमा पन्छ्याउदै समूह ‘बी’को विजेता बने । पंकज पनि समूह उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाउन सफल रहे । रत्नजितले एपिएफका विशाल प्रधानलाई २१–११ र २१–११ ले पाखा लगाए ।
क्वाटरफाइनलमा रत्न र पंकज, साजन र नेपाल प्रहरी क्लबका सन्जिव खड्का, एपीएफका विष्णु कट्वाल र विकास तथा विवेक र दिपेशबीच खेल हुनेछ ।
प्रतिक्रिया