‘बैंक तथा वित्तीय संस्थाका बदमास सहकारीमा प्रवेश’

sankataकाठमाडौं, ३० भदौ । अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार तथा अर्थविद् डा.चिरञ्जीवी नेपालले तीन खम्बे अर्थनीति आएपछि बैंक तथा वित्तीय संस्थाका बदमास सहकारीमा प्रवेश गरेको बताएका छन् । सहकारीमा जे गरे पनि हुन्छ भन्ने मानसिकताको विकासले यसो भएको बताए ।
संकटा बचत तथा ऋण सहकारीको १४ औं साधारण सभामा बोल्दै उनले ठगनै सञ्चालक भएका र उनीहरूलाई पहिचान गर्न नसक्दा अहिले समस्या आएको बताए । सहकारीमा ब्याजको लोभले अर्बांै रुपियाँ डुबेको बताउँदै नेपालले यसमा निक्षेपकर्तानै सचेत हुनुपर्ने सुझाव दिए ।
‘२७ हजारभन्दा बढी सहकारीको अनुगमन गर्न सहकारी विभागको क्षमता कमजोर रहेको उल्लेख गर्दै उनले क्षमता विस्तारमा राज्यलले ध्यान दिनुपर्छ, उनले भने ।’ ‘तीन खम्बे अर्थनीतिले बदमासहरूलाई जे गरे पनि हुन्छ भन्ने प्रोत्साहन मिलेको छ ।’ अब बन्ने संविधानमा यसलाई सच्याउन केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले सहकारीमा रहेर जथाभावी  गर्ने र सदस्यहरूलाई गुमराहमा राख्नेलाई नछाड्ने बताए । यसैबीच संकटाले आफ्ना सेयर सदस्यलाई बृहत् सेवा दिने उद्देश्यका साथ यस आर्थिक वर्षबाट मोबाइल बैंकिङमार्फत जुनसुकै ठाउँबाट निक्षेप राख्ने र झिक्ने व्यवस्था गर्न लागेको छ । यस सेवाबाट सदस्यहरूले संस्थामा आएर निक्षेप झिक्ने र जम्मा गर्न संस्था आउनुपर्ने झन्झट हट्ने संस्थाका सचिव विन्देश्वर श्रेष्ठले बताए ।
संस्थाले आर्थिक वर्ष ०६९/०७० मा ६२ करोड ८५ लाख ६ सय ९६ रुपियाँ निक्षेप संकलन गरी ४७ करोड ८० लाख ८ हजार ८ सय ४६ रुपियाँ कर्जा लगानी गरेको जनाएको छ । सोही आ.वमा ८ लाख ९४ हजार १ सय ८४ रुपियाँ खुद नाफा गरेको छ । संस्थाको सेयर पुँजी ५ करोड ४७ हजार १ सय रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया