निमार्ण कम्पनीको गाडी प्रयोग गरी लुटपाट

धनगढी, २९ भदौ । बझाङमा निमार्ण कम्पनीको गाडी प्रयोग गरी एक लुटेरा समूहले सदरमुकाम चैनपुर नजिकैको तमैल बजारमा बिहीबार लुटपाट गरेको छ ।
कडेल गाविसका ३५ वर्षीय विष्णु ऐडीको नेतृत्वमा आएको सात/आठ जनाको समूहले बझाङ सडक निमार्ण कम्पनीको गाडी प्रयोग गरी ५ लाख भन्दाबढी नगद १ सय २० किलोग्राम रातो च्याउ लुटेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
खोड्पे–बझाङ सडक
(जयपृथ्वीबहादुर सिंह राजमार्ग) को स्तरोन्नति गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी गोल्डेन गुड एन्ड लामा जेभी नामको निर्माण कम्पनीका प्रमुख आङगम्बु शेर्पालाई कुटपिट गरी उनको कम्पनीको बा९च १६ ७२ नम्बरको हाइलेक्स गाडी नियन्त्रणमा लिई तमैलमा गएर लुटपाट गरेको जिल्ला प्रहरीले जनाएको छ ।
सात/आठ जनाको समूहमा गएर गाडी नियन्त्रणमा लिई लुटपाट गर्ने ऐडीको पहिचान खुलेको र उनको खोजबिन भइरहेको छ । ऐडीसहितको समूहले रातो च्याउ तौली रहेका हुम्लाका व्यापारी कुन्साङ लामालाई कुटपिट गरी उनको साथमा रहेको पाँच लाख नगद र १ सय २० केजी रातो च्याउ लुटेर लगेको बझाङका प्रहरी नायव उपरीक्षक जयराज सापकोटाले बताए ।
बझाङ घर भएका ऐडीले लामो समय काठमाडौंमा बसेर व्यापारी तथा पेसाकर्मीलाई धम्काएर लुटपाट तथा गुन्डागर्दी गर्ने गरेका थिए । ऐडी दुई वर्षयता काठमाडौं छोडेर बझाङ आई लुटपाटमा संलग्न रहेको खुल्न आएको छ ।

प्रतिक्रिया