बलात्कारीलाई मृत्युदण्ड

नयाँदिल्ली । करिब नौ महिनापहिले भारतलाई हल्लाउने गरी राजधानी नयाँदिल्लीको एक सडकमा गुडिरहेको बसमा एक युवतीमाथि सामूहिक बलात्कार गर्ने चारजना अपराधीलाई शुक्रबार मृत्युदण्ड सजाय सुनाइएको छ ।
दिल्ली अदालतमा एक हजारभन्दा बढी पृष्ठको आरोपपत्र, ८६ प्रत्यक्षदर्शी गवाह र २४३ दिन लामो सुनुवाइपछि अतिरिक्त सत्र न्यायाधीश योगेश खन्नाले मृत्युदण्डको अधिकतम सजाय सुनाउँदै अपराधले गम्भीर सहनशीलताका सबै सीमा नाघेको टिप्पणी गरे । उनले भने, ‘महिलाहरूविरुद्ध दिनहुँ अपराध बढ्दै गइरहेको आजको समयमा अदालत आँखा चिम्लेर बस्न सक्दैन ।’
फैसला सुन्न खचाखच भरिएको अदालतमा पीडित युवतीका माता–पिता र दुवै भाइ उपस्थित थिए । उनीहरूले फैसला सुनेर ठूलो राहत मिलेको प्रतिक्रिया व्यक्त गरे ।
गत वर्ष १६ डिसेम्बरको राति राम सिंह, मुकेश(२६), अक्षय ठाकुर (२८), पवन गुप्ता (१९), विनय शर्मा (२०) र एकजना नाबालिगसमेतले एकजना २३ वर्षीय छात्रालाई सामूहिक बलात्कार गरेका थिए । अदालतले उनीहरूलाई हत्याका अतिरिक्त सामूहिक बलात्कार, अप्राकृतिक अपराध, हत्या प्रयास, डकैती, प्रमाण नष्ट गर्न खोजेको, षड्यन्त्र र हत्याका लागि अपहरण
गरेको आदि अपराधका लागि गत सेप्टेम्बर १० मा दोषी ठहर गरेको थियो । अपराधीमध्ये राम सिंहको जेल बस्दै मृत्यु भएको थियो भने नाबालिगलाई तीन वर्षका लागि सुधारगृहमा पठाइएको छ ।
अवैध रूपले दिल्लीमा गुडिरहेको बसमा ती युवती र उनका २८ वर्षीय केटासाथीमाथि कुटपिट गरेका थिए । केटासाथी सफ्टवेयर इन्जिनियरलाई पनि निकै चोट लागेको थियो । ती युवतीको सिंगापुरमा उपचाररत रहेकै अवस्थामा २९ डिसेम्बर २०१२ मा मृत्यु भएको थियो । घटनापछि भारतभरि ठूलो जनआक्रोश र निरन्तर विरोध प्रदर्शन उर्लेको थियो जसले गर्दा सरकार बलात्कार र महिलामाथिको हिंसाविरुद्ध कडा कानुननिर्माण गर्न विवश भएको थियो । (एजेन्सी)

प्रतिक्रिया