काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेनउड एकेडेमी र सूर्योदय इङलिस हाइ स्कुल चौथो प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । रातोपुलस्थित हेम्स स्कुलको कोर्टमा भएको सेमिफाइनलमा पेनउडले काठमाडौं इंग्लिस स्कुल (केइएस) लाई २९–१८ ले पराजित गर्यो । विजेताकी याङछिन गुरुङले ९ अंक जोडिन् । सुरुका तीन क्वाटरमा क्रमश: १४–६, ५–४ र ४–० को अग्रता लिएको पेनउड चौथोमा ६–८ ले पछि पर्यो । सूर्योदयले मैतीदेवी बोर्डिङ स्कुललाई १७–८ ले निराश पार्यो । सूर्योदयकी अर्मी सापकोटाले १२ स्कोर गरिन् ।
सूर्योदयले पहिलामा २ र दोस्रोमा ३ अंक जोड्दा मैतीदेवीले खाता खोल्न सकेन । तेस्रोमा सूर्योदयले ८–२ स्कोर गर्यो भने चौथोमा ४–६ ले पछाडि पर्यो । ब्वाइजतर्फ डिफेन्डिङ च्याम्पियन पेनउड र केइएसले फाइनलमा स्थान सुरक्षित गरे । पेनउडले एसियन पब्लिकको यात्रा ५४–४० ले पूर्णविराम लगायो । पेनउडको जितमा फुर्वा टासी शेर्पाले २७ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १२–११ को अग्रता लिएको पेनउड दोस्रोमा १४–६ ले अगाडि रह्यो । पेनउडले तेस्रोमा १०–११ र चौथोमा १८–१२ को प्रदर्शन गर्यो । अर्को सेमिफाइनलमा सुशन सुनुवारको १६ अंक सहयोगमा केइएसले आनन्दभूमि बोर्डिङ हाइ स्कुललाई ५२–३३ ले पाखा लगायो । केइएसले पहिलोमा १३–३, दोस्रोमा ९–२ र तेस्रोमा १८–१४ अंक जोड्यो । चौथोमा आनन्दभूमिले १४–१२ को अग्रता लिए पनि जित हात पार्न सकेन ।
प्रतिक्रिया