भिन्न व्यक्ति भिन्न विचार

Saffदक्षिण एसियाली च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली टोलीले विगतको भन्दा फरक ढंगले खेल्यो । पहिलेको भन्दा यसपटकको प्रदर्शन उम्दो थियो । पहिलो चरणमा समूहमा पहिलो स्थान पाउँदै दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोलीको प्रदर्शनले धेरैलाई आकर्षित गर्‍यो । यो साफ च्याम्पियनसिप हेर्नेहरूको प्रतिक्रिया पनि भिन्न रह्यो ।
धेरैले  नेपाल उपाधिको हकदार भएको प्रतिक्रिया व्यक्त गरे । पूर्वस्टार हरि खड्का यस प्रतियोगितामा नेपाली टोली दुर्भाग्यशाली भएको ठहर गर्छन् । ‘सबैले राम्रो खेले । फरवार्डहरूले गोल गर्न नसकेको आरोपबाट आफूलाई मुक्त गरे,’ उनको प्रतिक्रिया रह्यो । खड्काकै नजरमा  बायाँ रक्षक रविन श्रेष्ठ, अन्तिम रक्षक सन्दिप राई र मिडल्फिडर भोला सिलवाल उत्कृष्ट खेलाडी हुन् । बल पोसेसन धेरै भए पनि क्रिएटिभ मुभ कम हुनु र आवश्यक समयमा प्रशिक्षक सही रिप्लेसमेन्टमा चुक्नु नेपालको खराब पाटो रहेकोमा खड्का  सहमत रहे । ‘भारतसँगको खेलमा भोला सिलवाल  र रविन श्रेष्ठले बनाएको मुभमा जुमानु राइले गरेको गोल उत्कृष्ट थियो । नेपाली त्यसै खाले स्तरीयता चाहन्छन्  र उपयोग गरे त्यो खुबी पनि थियो,’ उनले भने ।
खड्काले भने झै त्यसै गोल गर्ने क्रममा रविनको ओभरल्याप र क्रस विश्वस्तरीय भएको प्रतिक्रिया धेरैले फेसबुकमा व्यक्त गरे । एक माल्दिभीयनले त यस खाले ओभरल्याप र क्रस दक्षिण एसियाली फुटबलमा विरलै देख्न पाइने बताउँदै यसलाई विश्वस्तरीय भएको बताए ।
खड्काले भने झै राजु तामाङलाई विमल घर्तीबाट प्रतिस्थापन गराइनु नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीको सबैभन्दा ठूलो गल्ती भएकोमा प्रशिक्षक ध्रुव केसी पनि सहमत छन् । उनले भने, ‘नेपाली टोलीले सबैभन्दा राम्रो खेलेको हो । उनको पेनाल्टी खेर जानुलाई अफगानी गोलरक्षकको क्षमता, दुर्भाग्य र म्याच प्रेसरको कारण असफल भएको हो ।’ केसीकै विचारमा रविन र भोला नै उत्कृष्ट हुन् । यसो त प्रशिक्षक कुमार कटुवालको नजरमा पनि भोला र रविन नै उत्कृष्ट हुन् । बंगलादेशी पत्रकार प्रदीप सिलको विचारमा नेपाल नै उपाधिको हकदार थियो । उनी नेपालको हारलाई दुर्भाग्यको संज्ञा दिन्छन् ।
यो साफ च्याम्पियनसिपले फेसबुकसमेत तात्यो । अफगानिस्तानको जितको लगत्तै सञ्चारकर्मी अनिल बोगटीको प्रतिक्रिया यस्तो रह्यो, ‘अल कायदाले सेप्टेम्बर एघारमा टुइन टावर भ्याइदिएको थियो । अफगानिस्तानले सेप्टेम्बर ११ मै धरहरानजिकै रंगशालामा देखाइदियो । जो होस् सेप्टेम्बर एघारले अफगानिस्तानमा दु:ख मात्र होइन सुख पनि ल्याइदिएको छ ।’
यस प्रतियोगितामा नेपालको परिणाम जे भए पनि रविन श्रेष्ठलाई नयाँ स्टारको रूपमा उदय गराएको छ । साफ  च्याम्पियनसिपमा मात्र नेपाली खेलाडीको प्रदर्शन हेर्ने नेपालीहरूले रविन बारेको प्रतिक्रिया यस्तो रह्यो, ‘त्यो पातलो नपत्याउँदो केटाले पनि भयंकर खेल्दो रहेछ ।’ नेपाली फुटबललाई नजिकबाट नियाल्नेहरूको भने भारत र नेपालबीचको खेलमा रविनले गरेको प्रदर्शन ज्यादै स्तरीय र प्रशंसनीय भएको प्रतिक्रिया रह्यो । अनी अफगानिस्तानको प्रगतिलाई बुझ्नेहरू पाँच वर्ष यो नै एशियाको शक्तिसाली टोली हुने सम्भावना व्यक्त गर्छन् ।

प्रतिक्रिया