पोखरा, २८ भदौ । दिगो वातावरणीय विकास र समृद्ध संस्कृति निर्माणमा भू–सूचना प्रविधि भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि पोखरामा सुरु भएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान काठमाडौंको आयोजनामा सुरु भएको दुईदिने उक्त सम्मेलनमा नेपाललगायत श्रीलंका, इन्डोनेसिया, जापान, भारत र बेलायतका गरी १ सय ५० जना प्रतिनिधिले भाग लिइरहेका छन् ।
भू–सूचना प्रविधिसँग जोडिएका तथ्यांकलाई सुरक्षित र प्रभावकारी रूपमा कसरी संग्रह गरेर राख्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा विज्ञहरूबाट विभिन्न क्षेत्रसँग सम्बन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।
त्रिभुवन विश्वविद्यालयका उप–कुलपति प्रा.डा. हीराबहादुर महर्जनले सम्मेलन उद्घाटन गर्दै पर्याप्त स्रोत–साधन भए पनि मानसिकता दरिद्रता गर्दा देशले विकासको गति लिन नसकेको बताए ।
इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा. भरतराज पहारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा इन्जिनियरिङ क्याम्पस लामाचौरका प्रमुख नारायणप्रसाद गौतम, डा. अरमिन गुईन, डा. सुनजी मुराई र रविनकुमार शर्माले सम्मेलनको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।
प्रतिक्रिया