नेविसंघ महाधिवेशन फेरि रोकियो

nepal student uniyanकाठमाडौं, २८ भदौ । विवादका कारण नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन पटकपटक स्थगित हुँदै आएको छ । पछिल्लो शनिबार हुने  महाविधेशन संघले दुई दिनअघि मात्र बिहीबार स्थगित गरेको घोषणा गरेको छ  । शनिबारदेखि हुने भनिएको संघको ११ औँ महाविधेशन संघका अध्यक्ष रञ्जित कर्णले बिहीबार विज्ञप्ति जारी गर्दै स्थगित गरेका हुन् ।
संघले धेरैजसो जिल्ला, विश्वविद्यालय तथा क्याम्पसमा अधिवेशन हुन नसकेकाले महाधिवेशन स्थागित गर्नुपरेको उल्लेख गरेको छ । संघले शनिबारदेखि तीन दिनसम्म नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना गरेको थियो ।
संघका प्रवक्ता युपि लामिछानेले धेरै जिल्लामा विवादका कारण अधिवेशन गर्न नसकिएको र संविधानसभाको तयारीमा लाग्नुपर्ने भएकाले स्थागित गरिएको जानकारी गराए ।  प्रतिनिधि छनोटमा विवाद भएपछि संघले निर्धारित समयमा जिल्ला तथा क्याम्पसका अधिवेशन गर्न सकेको छैन ।
योसंगै २०६४ जेठयता संघको महाधिवेशन ४ पटक स्थगित भएको छ । यसअधि माघ ५, ६ र ७ का लागि  तय गरिएको महाधिवेशन प्रतिनिधि छनोट विवादका कारण हुन सकेको थिएन । भने वैशाखमा पनि अनौपचारिक रूपमा घोषणा गरिएको महाधिवेशन भदौमा सारिएको थियो ।
२५ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने बताए पनि केही जिल्लाबाहेक अरुमा अधिवेशन भएको थिएन । अध्यक्ष कर्णले पार्टी विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीलाई पनि जानकारी नगराई महाधिवेशन स्थगित गरेका हुन् । जोशीले महाधिवेशन स्थागित भएको जानकारी फेसबुकबाट मात्र थाहा पाएको बताए ।
संघका कार्यवाहक अध्यक्ष पदसमेत समालेका लेखनाथ पोखरेलले कमिटीमा छलफल नै नगरी एक्कासि महाधिवेशनको मुखमा आएर स्थगित गरेको बताए । उनले अध्यक्ष कर्णको अक्षमताले महाधिवेशन गर्न नसकेको बताए । ६ महिना संघको महाधिवेशन गर्न जिम्मा पाएका कर्णले २ पटक स्थगित गरेका छन् ।
२०६७ साल चैत १९ गते तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि त्यसको ११ महिनापछि पार्टी नेतृत्वले रञ्जीत कर्णलाई अध्यक्ष बनाएको थियो । कर्णअघि पौडेलले महाधिवेशन गर्न लाग्दा पार्टीले हस्तक्षेप गरी रञ्जित कर्णलाई २०६८ माघमा अध्यक्ष बनाएको थियो ।
संघभित्र नेतृत्व आफ्नो पक्षमा पार्नका लागि प्रतिनिधि छनोटमा विवाद देखिएको छ ।  पार्टी अध्यक्ष सुशील कोइराला र शेरबहादुर पक्षधर विद्यार्थी नेताहरू प्रतिनिधि छनोटमा आफ्नालाई पार्नका लागि विवाद गर्ने गरेका छन् । प्रतिनिधि छनोटका विषयमा संघको कार्यालयमा तोडफोडसमेत भएको थियो ।
अन्तिम समयमा महाधिवेशन स्थगन गरेको भन्दै विद्यार्थीहरूले अध्यक्ष कर्णको आलोचना गरेका छन् । कर्णले महाधिवेशन गराउनेभन्दा आफ्नो कार्यकाल लम्ब्याउन खोजेको आरोप नेविसंघका नेताहरूले लगाएका छन् । उनीहरूले पटकपटक मिति घोषणा हुने तर महाधिवेशनका लागि वातावरण बनाउनेभन्दा बिगार्ने कर्णको प्रवृत्ति नै भएको उनीहरूको आरोप छ ।  केन्द्रीय सदस्य सुदीप  न्यौपानेले भने पार्टी नेतृत्वको अनिच्छाका कारण महाधिवेशन नभएको दाबी गरे । ‘महाधिवेशन भए विद्यार्थी संघको नेतृत्व पनि आफ्नो पोल्टोबाट फुत्किने डर पार्टी नेतृत्वलाई छ,’ उनले भने, ‘ महाधिवेशनबाट नेतृत्व चयन गराउने भन्दा टीका लगाएर संगठनलाई  चलाउने षड्यन्त्रको शृंखला हो ।’

प्रतिक्रिया