एमाले युवा संघको विवाद साम्य

mahesh basnetकाठमाडौं, २८ भदौ । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालभित्र देसिमूहएको चरम विवाद तत्कालका लागि अन्त्य भएको छ । एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीनिकट मानिने अध्यक्ष महेश बस्नेत र वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने उपाध्यक्ष झपट रावल समूहबीचको आन्तरिक कलहका कारण उक्त संगठनभित्र विवाद बढेको थियो । ती दुवै समूहले बिहीबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी विवाद समाधान भएको घोषणा गरेका छन् ।
ती दुवै समूहबीच चरम विवाद भएपछि उनीहरूले केही समय अघिदेखि छुट्टा–छुट्टै समूहमा कार्यक्रमको आयोजना गर्दै आएका थिए । बस्नेत समूहले गत साउनको ३१–३२ गते विराटनगरमा केन्द्रीय कमिटीको बैठक आयोजना गरेको थियो । त्यस्तै, रावल समूहले त्यही समयमा राजधानीमा भेलाको आयोजना गरेको थियो । पार्टीले भेला र बैठक रोक्न पत्राचार गरेपछि रावल समूहले राजधानीको भेला रोके पनि बस्नेत समूहले भने पार्टी निर्देशनको बेवास्ता गर्दै विराटनगरमा बैठक आयोजना गरेको थियो । केन्द्रीय कमिटीका बहुमत सदस्यको सहभागिता रहेको भन्दै बस्नेत समूहले बैठकबाट स्थायी कमिटी, सचिवालय र केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । त्यस्तै, बस्नेत समूहले भदौको १ र २ गते धरानमा महिला भेलाको आयोजना गरी महिला युथफोर्स गठन गरेको थियो । यता रावल समूहले भने त्यही बेला राजधानीमा गर्ने भनेको भेला स्थगन गरेको थियो ।
रावल समूहले त्यसअघि नै पुष्पलाल–मदन भण्डारी केन्द्रीय पुस्तकालयका नाममा राजधानीमा भव्य कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ नेता नेपाललाई प्रमुख अतिथि बनाएको उक्त कार्यक्रममा बस्नेत समूहका कसैको पनि उपस्थिति थिएन । दुवै समूहबीच विवाद बढ्दै गएपछि पार्टीले उक्त विवाद मिलाउन युवाफाँट प्रमुख शेरबहादुर तामाङ संयोजक रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष बस्नेत र उपाध्यक्ष रावल थिए । उक्त कार्यदलले विवाद मिलाउन बस्नेत समूहले विराटनगर भेलाबाट स्थायी समिति, सचिवालय र केन्द्रीय सदस्यमा गरेको मनोनयनलाई कार्यान्वयन नगर्ने, रावल समूहले यही भदौ २९ र ३० गते पोखरामा गर्ने भनेको अञ्चल सदस्यहरूको भेला स्थगन गर्ने जस्ता निर्णय गरेको थियो ।
त्यस्तै, उक्त कार्यदलले यही भाद्र २९ र ३० गते चितवनको रत्ननगरमा संयुक्तरूपमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने निर्णय पनि गरेको थियो । ‘हामीले एक भएको सन्देश दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो,’ राजधानीमा बिहीबार संयुक्तरूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले भने, ‘सबै प्रकारका विवाद समाधान गर्दै एकढिक्का भएर आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न लाग्ने वचनबद्धता गरेका छौँ ।’ पत्रकार सम्मेलनमा संघका अध्यक्ष बस्नेत, उपाध्यक्षहरू रावल, दिलु पन्त, निरु पाल, सूर्य ढकाल सचिवहरू किरण पौडेल, रमेश पौडैल, नरेशकुमार शाही, सरोजदिलु विश्वकर्मा, प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवाललगायत नेताहरूले विवाद समाधान भएको घोषणा गरेका थिए ।
‘जसको नीति उसकै नेतृत्व भन्ने नेकपा एमालेको मूल नाराको मार्गनिर्देशनमा बहुपहिचानसहितको संघीयता र सामाजिक सद्भाव सहितको राष्ट्रिय एकता, युवाहरूको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, दिगो शान्ति, सुशासन, समुन्नत र समृद्ध नेपाल निर्माणको उद्देश्य किटान भएको संविधान निर्माणका लागि एमालेलाई पहिलो पार्टी बनाउने उद्देश्यका साथ अघि बढ्छौँ,’ बस्नेतले भने । उपाध्यक्ष दिलु पन्तले पनि युवा संघभित्रको विवाद अन्त्य भएको जानकारी दिइन् । ‘विराटनगरको गोठगाउँ बैठकले गरेको मनोनयन कार्यान्वयन नगर्ने, विधान लेखन प्रक्रियालाई स्थगन गर्नेलगायत कुरामा सहमति भएपछि विवाद मिलेको हो,’ पन्तले भनिन्, ‘पदाधिकारीको बैठकले चितवन भेलालाई संविधानसभाको निर्वाचन केन्द्रित बनाउने निर्णय गरेको छ ।’ त्यसैगरी पदाधिकारीको बैठकले युथफोर्स विभागलाई चुनावमा सक्रिय बनाउने निर्णय गरेको पनि पन्तले जानकारी दिइन् ।
चितवनमा हुने कार्यकर्ता भेलाको उद्घाटन नेकपा एमाले अध्यक्ष झलनाथ खनालले गर्नुहुने कार्यक्रम छ,’ प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले भने, ‘युवा संघ एकतावद्ध भएर अघि बढेको सन्देश दिन हामीले उक्त भेलामा वक्ताका रूपमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रभावशाली नेता केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेल युवाफाँट प्रमुख शेरबहादुर तामाङलाई आमन्त्रण गरेका छौँ ।’ भेलामा देशभरका ७५ वटै जिल्लाबाट ७ सय ७६ प्रतिनिधिको सहभागिता रहने उनले जानकारी दिए ।
समानुपातिक उम्मेदवारमा ६ जनाको नाम सिफारिस
युवा संघ नेपालले आगामी संविधानसभामा सभासद्का लागि ६ जनाको नाम सिफारिस गरेको छ । संघको पदाधिकारी बैठकले ६ जनाको नाम सिफारिस गरेको उपाध्यक्ष पन्तले जानकारी दिइन् । सिफारिसमा परेका नाममा उपाध्यक्षहरू पन्त, निरु पाल र राजु गुरुङ्का साथै सचिवहरू सरोजदिलु विश्वकर्मा र चन्द्र लामा छन् । त्यस्तै कोषाध्यक्ष गोविन्द थापा पनि सिफारिसमा परेका छन् ।

प्रतिक्रिया