काठमाडौं, २८ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित ३३ दलीय मोर्चा प्रधानन्यायाधीश पदबाट राजीनामा दिए अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई स्विकार्ने मनस्थितिमा पुगेको छ ।
अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन र चुनावी प्रक्रियाप्रति असहमति जनाउँदै आएको माओवादीसहित ३३ दलीय मोर्चाले अडानमा लचकता देखाउँदै अनौपचारिक रूपमा यस्तो प्रस्ताव अघि सारेको हो । चुनावी सरकारले आह्वान गरेको सर्वदलीय छलफलसमेत बहिष्कार गर्दै आएको ३३ दल भने आज राष्ट्रपति डा. रामवरण यादवले बोलाएको छलफलमा लचकताका साथ सहभागी हुने भएका छन् ।
३३ दलीय कार्यदलका संयोजक तथा माओवादी सचिव देव गुरुङले सर्वदलीय बैठक बोलाउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । विनासर्त बोलाइएकाले सर्वदलीय बैठकप्रति आफूहरू सकारात्मक रहेको संयोजक गुरुङले बताए ।
‘मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन्छन् र उनी कर्मचारी तथा कुनै निकायको पदाधिकारीजस्तो नभएर राजनीतिक व्यक्तित्वका रूपमा आउँछन् भने हामी उनलाई स्विकार्न तयार छौँ,’ राजधानीमा बिहीबार आयोजित एक साक्षात्कारमा गुरुङले भने, ‘रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराएर दलहरूको सहमतिमा अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सरकार बनाए हामी मान्न तयार छौँ ।’
३३ दलीय कार्यदलका अर्का एक सदस्यले पनि एजेन्डाकै रूपमा सो कुरालाई नलगे पनि चार दल सहमति गर्ने गरी प्रस्तुत भए रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराएर उनकै नेतृत्वको सरकार मान्न लचक हुने विषयमा कुराकानी भएको बताए । तर, ४ मंसिरको संविधानसभा चुनाव भने सबै दल बसेर तोकिनुपर्ने या संविधानका विवादित विषय गोलमेचबाटै टुंगो लगाउनुपर्ने उनले स्पष्ट पारे । गुरुङले भने ४ मंसिरका लागि घोषित चुनावमा पनि सहभागी हुन सक्ने बताएका थिए ।
कार्यदल सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी एकीकृतका अध्यक्ष परी थापाले पनि चार दल सहमति नै गर्ने गरी आउने हो भने खुला रूपमा आफूहरू पनि छलफल गर्न तयार रहेको र १८ बँुदे मागमा लचकता अपनाउन सकिने सौर्यलाई बताए ।
माओवादी मोर्चा लचिलो
माओवादी प्रवक्ता पम्फा भुसालले भने दलीय सरकार र गोलमेच सम्मेलन आºनो पार्टीको बटमलाइन रहेको बताइन् । उनले आफूहरू पूर्णरूपमा चुनावको पक्षमा रहेको तर चुनावबाट संविधान बन्ने ग्यारेन्टी हुनुपर्ने बताइन् । ‘यथास्थितिमा गरिने चुनावले जनताले चाहेको संविधान नै दिन सक्दैन,’ प्रवक्ता भुसालले भनिन्, ‘चुनावमा जान संविधान बन्ने न्यूनतम आधार त बन्नुपर्यो नि †’
उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँगको वार्ताको औचित्य सकिएको घोषणासमेत गरेको अवस्थामा आज सर्वदलीय छलफल हुन लागेको हो । यसअघि चार दलले वैद्य नेतृत्वको मोर्चालाई छाडेर भए पनि चुनावको तयारीमा जुट्ने निर्णय गरिसकेका कारण आजको छलफल पनि औचित्यहीन भए राजनीतिक संकट आउने विश्लेषकको ठम्याइ छ ।
बैठकमा मोर्चाले केही लचकता अपनाएर आउने संकेत गरेको छ । यसअघि राजधानीमा बसेको नेकपा–माओवादी पोलिटब्युरो बैठकले चार दल सहमतिबाट भाग्न खोजेको भन्दै पुन: सहमतिका लागि प्रयास थाल्ने र त्यसमा केही लचकता अपनाउने निर्णय गरेको थियो । उक्त विषयमा सल्लाहकार तथा राजधानीमा उपस्थित केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले प्रशिक्षण दिएका थिए । मोर्चा आजको सर्वदलीय बैठकमा यसअघिको १८ बुँदालाई नै परिमार्जन गरेर उपस्थित हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार शुक्रबार बिहान बैठक बसेर सर्वदलीय छलफलमा उठाउने विषयको टुंगो लगाइने भएको छ ।
प्रतिक्रिया