हवाई सेवा ठप्प पार्ने चेतावनी

aeroplaneकाठमाडौं, २७ भदौ । वायु सेवा सञ्चालक संघले आफ्नो माग पूरा नभए हवाई सेवा ठप्प पार्ने चेतावनी दिएको छ । संघले तीन बुँदे माग प्रस्तुत गर्दै सम्बन्धित निकायले १५ दिनभित्र माग पूरा नगरे आन्दोलनमा उत्रने बताएको हो ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सरकारले अव्यवहारिक रूपमा हवाई इन्धनको मूल्य वृद्धि गर्दा वायु सेवा सञ्चालक र त्यसका उपभोक्ता नागरिकहरू मारमा पर्ने गरेकोले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको दाबी सो संघले गरेको छ ।
संघले डिजेल, मट्टितेल र एलपी ग्यासमा अनुदान दिने हवाई इन्धनमा अध्याधिक मूल्य वृद्धि गर्ने सरकारी नीति अव्यवहारिक भएको भन्दै त्यसको खारेजी, हवाई इन्धनमा आयल निगमको एकाधिकारले गर्दा सेवा महंगो र सहज नभएकोले निजी क्षेत्रका लागि पनि सेवा खुला गर्नु पर्ने र हवाई इन्धन पाउन तीन साताको खपत बराबरको मूल्य एकैपटक जम्मा गर्ने प्रावधानको साटो बैंक ग्यारेन्टी स्वीकार गर्नु पर्ने व्यवस्था गर्न मागअघि सार्दै त्यस्तो चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मट्टितेल, ग्यास र डिजेलको घाटा हवाई इन्धनबाट असुल्ने पञ्चायत कालीन क्रस सब्सिडीको व्यवस्थाका कारण सर्वधारणका लागि हवाई सेवा महंगो भएको भन्दै त्यसलाई तत्काल खारेजी गरी निजी क्षेत्रले समेत इन्धन वितरण गर्न पाउँने व्यवस्थासहित सो व्यवस्था खारेज गर्नु पर्ने बताए ।
उनले आयल निगमले २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने सरकारी व्यवस्थालाई समेत चुनौती दिँदै हवाई इन्धनमा २५ प्रतिशत नाफा लिइरहेको भन्दै सरकारले आफूहरूले अघि सारेको माग पूरा गरे हवाई यातायात सस्तो हुने दाबीसमेत गरे ।
थापाले भने, ‘पञ्चायत कालमा हवाई यातायातलाई धनीहरूको सवारी भनेर क्रस सब्सिडीको व्यवस्था गरिएको थियो । तर, अहिले यो रहरभन्दा पनि बाध्यता भएकोले सरकारले यस्तो आउटडेटेड व्यवस्था तत्काल खारेज गर्नु पर्छ ।’ आयल निगमको एकाधिकार अन्त्य गरे पनि इन्धनको मूल्य सस्तो हुन्छ । यसतर्फ सरकारले ध्यान दिनु पर्ने उनले बताए ।
उनले आफूहरूले पर्यटन तथा नागरिक उड्यनमन्त्रीलाई बुधबार नै मागपत्र बुझाएको जानकारी दिँदै १५ दिनभित्र माग पूरा नभए बाध्यताबस दसँैको मुखमा हवाई सेवा ढप्प पार्नु पर्ने बाध्यता आँैल्याए । थापाले भने, ‘माग पूरा नभए दुई घन्टा, आधा दिन, पूरा दिन गर्दै क्रमश: बन्द गर्दै जान्छाँै ।’
संघका महासचिव सुमन पाण्डेले हवाई इन्धनमा बढाएर अन्यमा अनुदान दिँदा वर्षेनी हवाई यात्रा गर्ने १५ लाख नेपाली नागरिक समस्यामा पर्ने गरेको र हवाई इन्धनको महंगीले अन्तर्राष्ट्रिय सेवाको पनि मूल्य वृद्धि गर्नु पर्दा पर्यटकमा समेत नराम्रो असर पर्ने गरेको गुनासो गरे । उनले पनि तत्काल क्रस सब्सिडी खारेजी, बंैक ग्यारेन्टी स्वीकानु पर्ने र इन्धनको वितरण निजी क्षेत्रका लागि खुला गरेर अहिलेको भन्दा हवाई इन्धनको मूल्य कम हुने दाबी गरे ।

प्रतिक्रिया