तेस्रो प्रयासमा सफलता

Saf-Afganistanकाठमाडौं, २७ भदौ । युद्धको जजर्र अवस्थाबाट मुक्त हुँदै खेल क्षेत्रमा एकपछि अर्को फड्को मारेको अफगानिस्तानले बुधबार भारतलाई २–० ले पराजित गर्दै उपाधि हात पार्न सफल भएको छ । तीन वर्षमा तीन दक्षिण एसियालीस्तरीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको अफगानिस्तानले तीन वर्षअघि बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता रे सन् २०११ मा नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिपमा पनि दोस्रो स्थानमै चित्त बुझाएको थियो । यसपटक भने अफगानिस्तानले पूरै समय खेलमा पकड राख्दै उपाधि जित्यो । गोलरक्षक मन्सुर फख्रियारले भारतका एकपछि अर्का आक्रमण विफल पार्दा प्रभावशाली स्ट्राइकर विलाल आरजुले गोल गर्न नसके पनि दुवै गोलमा महत्त्वपूर्ण भूमिका खेले ।
नवौँ मिनेटमा मस्तफा हदिदले बनाएको मुभमा आरजुले मुस्तफा आजादजोयलाई बल उपलब्ध गराएपछि मुस्तफाले सहजै गोल गरे । १७औँ मिनेटमा भारतले खेल बराबरी गर्नेे मौका पाए पनि मन्सुरले भारतका रोबिन सिंहलाई कुनै मौका नै नदिई अगाडि बढेर बल नियन्त्रणमा लिए । दुई मिनेटपछि नै मिनेटपछि काउन्टर एट्याकमा आजादजोयले सन्जर अहमादीलाई बल उपलब्ध गराए पनि  भारतीय गोलरक्षक सुब्रतो पाउलले बललाई नियन्त्रणमा लिए । २३औँ मिनेटमा जेजेले गोलपोस्ट अगाडि रहेका रोविन सिंहलाई बल पास नगर्दा भारत फेरि बराबरी गोल फर्काउने मौकाबाट चुक्यो । २७औँ मिनेटमा आरटा इजुमीले राइट फ्लयाङबाट पाएको पासलाई सदुपयोग गर्दै कडा प्रहार गरे पनि त्यसलाई गोलकिपर मन्सुरले उत्कृष्ट ढंगबाट जोगाए । ३२औँ मिनेटमा भारतले कर्नर किक मेहताब हुसेनले प्रहार गरेको कर्नरमार्फत गौरामागी सिंहले गरेको प्रहारमा पनि गोलकिपर मन्सुर नै बाधक बने । तीन मिनेट लगत्तै आरटाले गरेको उत्कृष्ट प्रहारलाई गोलकिपर मन्सुरले फर्काए । रिबाउन्डमा जेजेले फेरि उत्कृष्ट प्रहार गरेका थिए तर यसपटक अफगानिस्तानले गोललाइनबाटै बललाई क्लियर गरेर संकट टार्‍यो । पहिलो हाफको अन्त्यतिर भारतले गरेका एकपछि अर्को आक्रामणलाई निस्तेज पार्दै गोलकिपर मन्सुरले टोलीको अग्रता कायम राख्न महत्त्वपूर्ण भूमिका निभाएका थिए । १–० ले पछि परेको भारतले दोस्रो हाफमा आक्रामक सुरुआत गर्‍यो ।
खेलको ५०औँ मिनेटमा जेजे फेरि एकपटक गोलका लागि अघि बढेका थिए तर उनले भेट्टाउनुअघि नै बलले गोललाइन क्रस गर्‍यो । ५७औँ मिनेटमा अरनव मण्डलले पहेँलो कार्ड खाएपछि भारत केही दबाबमा आयो । त्यसयता अफगानिस्तानका हारोन फक्रुद्दिनले गरेको उत्कृष्ट फ्रि–किकलाई गोलकिपर सुब्रतो पाउलले नियन्त्रणमा लिए । ५९औँ मिनेटमा रोविन सिंहले अफगानिस्तानको डिफेन्सलाई क्रस गरेका थिए तर उनले गोलकिपर मन्सुर खानलाई विट गर्न सकेनन् । ६० मिनेटमा जेजेको सट्टामा सुनील क्षेत्री मैदान छिरेपछि भारतको प्रदर्शन सुधारिने संकेत देखिएको थियो । सुनील क्षेत्री र फ्रान्सिसले उत्कृष्ट पास खेल्दै गरेको राम्रो प्रहारलाई गोलकिपर मन्सुरले उस्तै ढंगबाट जोगाए । लगत्तै दुई मिनेटपछि सन्जर अहमदीले गोल गर्दा भारत फेरि निराश बन्यो । बिलाल आरजुको पहिलो सटलाई गोलकिपर सुब्रतोले राम्ररी क्लियर गर्न नपाउँदै अहमदीले गरेको प्रहारले गोलपोस्टको जाली चुमेको थियो । ६३औँ मिनेटमा फ्रान्सिस गोलनजिक देखिएका थिए । तर उनको राम्रो प्रहारलाई गोलकिपर मन्सुर खानले उत्कृष्ट ढंगबाट जोगाए । खेलमा २–० को अग्रता लिए पछि भने अफगानिस्तान केही रक्षात्मक देखियो । अफगानिस्तानले मरुफको सट्टामा ६९औँ मिनेटमा युवा हास्मतुल्लाह महोमदलाई मैदान छिराएको थियो । ५ मिनेटपछि सन्जर अहमदीको सट्टामा अहमद आरसलाई मैदान छिरे । ७८औँ मिनेटमा फेरि मन्सुरले भारतको अर्को प्रहार जोगाए । ८९औँ मिनेटमा फ्रान्सिस्कोको क्रसमा सुनीलले गरेको हेडर बारभन्दा केही इन्चमाथिबाट बाहिरिएपछि भारतको खेलमा फर्कने सम्भावना कमजोर बनेको थियो ।
जितस‘गै अफगानिस्तानले ५० हजार अमेरिकी डलर हात पार्दा उपविजेतामै सीमित भारतले केवल २५ हजार डलर पुरस्कार पायो । प्रतियोगितामा आयोजक नेपालले फेयर प्ले अवार्ड जित्यो । नेपाल र माल्दिभ्सले सेमिफाइनलसम्मको यात्रा गरेबापत समान १०–१० हजार अमेरिकी डलर हात पारे । काठमाडौँस्थित दशरथ रंगशाला र एपिएफ ग्राउन्डमा एक साताभन्दा बढी समयसम्म चलेको प्रतियोगितामा माल्भ्दिसका असफाक अलिले सर्वाधिक १० गोल गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड अफगानिस्तानका गोलकिपर मन्सुर खानले जिते । उनले सेमिफाइनलमा नेपालका रोहित चन्दले गरेका दुई पेनाल्टी प्रहार मात्रै जोगाएनन्, फाइनलमा भारतीय टिमका प्रत्येक प्रहार निस्तेज पार्दै अफगानिस्तानलाई फुटबल इतिहासकै सबैभन्दा मूल्यवान् ट्रफीसमेत दिलाए ।
अफगानिस्तान सरकारले प्रतयोगिता जित्न सके टिमका प्रत्येक सदस्यलाई अपार्टमेन्ट दिने घोषणा गरेको छ, त्यस्तै टिमले अजिज बैंकबाट २० हजार अमेरिकी डलर हात पार्नेछ ।

प्रतिक्रिया