पार्किङ नहुँदा बजार क्षेत्र अस्तव्यस्त

नारायणगढ, २७ भदौ । पार्किङ र भौतिक संरचना व्यवस्थित नहुँदा मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेका छन् । स्थानीय निकायको लापरबाहीले चितवनका नारायणगढ, भरतपुर, रत्ननगर टाँडी र खैरहनी पर्साका बजारमा यस्तो अस्तव्यस्त समस्या देखिएको हो ।
देशकै प्रमुख केन्द्रका रूपमा परिचत चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढ क्षेत्रको अवस्था बिजोग बनेको छ । ‘जताततै सडक भत्किएको जोकोहीले पनि सजिलै देख्न सकिन्छ,’ केन्द्रीय बसपार्क नजिकका दीपक तिमल्सिनाले बताए ।
चर्को घरबहाल असुली रहेका यहाँका घरधनीले पार्किङका लागि ठाउँ छुटाएका छैनन् भने मुख्य सरोकार राख्ने भरतपुर नगरपालिकासमेत मूकदर्शक बनिरहेको घर बहाल मञ्च चितवनका अध्यक्ष विष्णु कँडेलले बताए ।
यस्तै समयमै अनुगमन नहुँदा सडक बत्ती प्रयोगविहीन छ भने फोहोर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित छ । उता जिल्लाको दोस्रो नगरपालिकाका रूपमा परिचित रत्ननगर नगरपालिका क्षेत्रमा पर्ने मुख्य राजमार्ग त झनै अस्तव्यस्त छ ।
रत्ननगरको मुख्य बजार क्षेत्रमा बनाइएको ढलमा विवाद हुँदा सडक आवतजावत गर्ने सर्वसाधारण मर्कामा परेको छ तर नगरपालिका मौन छ । यस्तै पूर्वी चितवनको खैरहनी पर्सा बजार, वीरेन्द्रनगर, भण्डारा र पिल्ले बजार क्षेत्रका सडकको पनि उही गति छ । जथाभावी फुटपाथ पसलको व्यापार पुन: सुरु भएका छन् । नारायणगढ क्षेत्रमा लाखौं खर्चेर जडान गरिएको बिजुली उपयोगमा छैन । सडक बत्ती ४० प्रतिशत पोलमा मात्र बल्ने गरेको र बिजुलीको बल्ब तार टाँगेर नबाल्दा लगानी खेर गएको छ ।
लायन्सचोकदेखि पुल्चोकसम्म पोल राख्नका लागि सडकको कालोपत्रे खनेर सरकारले दोब्बर रकम खर्च गरेको छ । नगरपालिकाले ठेकेदार कम्पनीलाई जिम्मा नलगाउँदा काम अलपत्र छ । सडक निर्माण गर्न स्थानीयले दबाब दिएपछि झारा टार्न काम मात्रै नगरपालिकाले गरेको स्थानीयवासीको गुनासो रहेको छ । सडक विस्तारका नाममा खनिएका सडक पेटी र दायाँबायाँ घरधनीले मर्मत नगर्दा बजार क्षेत्र कुरूप भएको छ । सडक विस्तार गर्न भत्काइएका घर निर्माण नहुँदा बजारको सुन्दरता बिग्रिएको छ । निर्माणका नाममा दिउँसोको समयमा बटुवा, सवारीसाधनलाई अवरोध भएको यहाँको नगरपालिका, ट्राफिक कार्यालयले हेक्का गरेको छैन ।
रात्रिकालीन काम गर्नुपर्ने नियमलाई बेवास्ता गर्दै दिउँसो व्यस्त बजारमा सडकपेटी, घर निर्माणलगायत काम गर्दा धुलो, विभिन्न सामानको अवरोधले बजारवासी हैरानी बेहोर्न बाध्य छन् । ६ महिनाअघि केही सुध्रिएको ट्राफिक अवस्था अहिले झन् खराब बन्दै गएको छ । नारायणगढको पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा घन्टौँ जाम हुने अवस्था कायमै छ । पुल्चोकलाई व्यवस्थित गर्न पाकिर्ङ निषेधित क्षेत्रमा सवारी राखिएका छन् । सडक फराकिलो पारिए पनि सवारी राख्न व्यवस्थित नहुँदा पूर्व–पश्चिम राजमार्ग घन्टौँ जाम हुने गर्छ ।
सडकपेटीलाई व्यवस्थित गर्न नसक्दा बटुवालाई हिँड्न समस्या छ । नगर क्षेत्रमा संकलित फोहोर राति उठाउनुपर्नेतर्फ नगरपालिकाले ध्यान पुर्‍याउन नसक्दा दैनिक दुर्गन्ध फैलिने गरेको छ । फोहोरका कारण नगर क्षेत्रमा दुर्गन्धले स्थानीय र बटुवा दिगदार भएका छन् । यस्तै तरकारी मन्डीमा समेत त्यस्तै फोहरको समस्या सजिलै देख्न सकिन्छ । मन्डीमा तरकारी व्यवसाय गर्दै आएकी सीता भेटवालले भनिन्, ‘सडकमा सवारीसाधनबाट फुटेका सिसा यत्रतत्र छरिएका हुन्छन् । फुटेका सिसाका कारण सर्वसाधारणले दुर्घटना बेहोर्दै आएका छन् ।’ सवारी साधन फुटेका सिसाले टायर पन्चर हुने समस्याबाट दिक्क बनेका छन् । यस विषयमा सडक डिभिजन कार्यालय भरतपुरसँग सोध्दा डिभिजनले बजेट अभाव मर्मत गर्न नसकेको बतायो । नगर क्षेत्रमा ओहोरदोहोर गर्ने ट्रयाक्टरभरि माटो र बालुवा बोकेर पोख्दै कुद्धा कालोपत्रे सडक धुलाम्मे हुने समस्याले सबैलाई हैरानी बनाएको स्थानीय दीपक लामिछाने बताउँछन् ।
दैनिक दर्जनौं यस्ता ट्याक्टरलाई नियन्त्रणमा लिने र माटो बालुवा बोक्न व्यवस्थित बनाउन कुनै निकायले पहल गरेको छैन । सडकको बीच भागमा लामालामा काठ, टिन, छड आदि सामग्री बोकेर हिँड्ने रिक्साले टाढा जाने र छोटो दूरीका सवारी घन्टौँ जाममा फस्दै आएका छन् । कुन सवारीले कति सामान बोक्न पाउने सरकारी निकायले मापदण्ड नतोक्दा यहाँको ट्राफिक अवस्था लथालिंग भइरहेको छ तर पनि सरोकारवाला निकाय भने मौन बसिरहेका छन् ।

प्रतिक्रिया