काठमाडौं म्याराथन ५ असोजमा

काठमाडौ, २६ भदौ ।  प्रो–स्पोर्ट्स प्राइभेट लिमिटेडको आयोजनामा सातौँ रियल काठमाडौं म्याराथन ५ असोजमा हुने भएको छ । प्रतियोगितामा महिला/पुरुषको फुल र हाफ म्याराथन, महिला/पुरुषको ५ किलोमिटर खुला दौड, स्कुलतर्फ छात्र/छात्राको ५ किलोमिटर दौड तथा महिला/पुरुषको व्ह्ीलचेयर स्पर्धामा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रमुख निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।
१० वटै विधामा नगद पुरस्कारको व्यवस्था छ । सबै १० विधामा मिलाएर कुल नगद पुरस्कार ७ लाख ४६ हजार रूपैयाँ रहेको छ ।
फुल म्यारथनको पुरुष/महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: १ लाख, ५० हजार र २० हजार रुपियाँ पुरस्कार पाउनेछन् । दुवै समूहमा चौथोदेखि दसौँ स्थानमा दौड पूरा गर्नेलाई पनि नगद पुरस्कार दिइनेछ ।
हाफ म्याराथनको पुरुष/महिलामा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार जित्नेछन् । ५ किलोमिटर खुला दौडको पुरुष/महिलामा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बाँकी चारै विधाका प्रथमले १० हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजारका दरले नगद पुरस्कार जित्नेछन् ।
डाबर नेपालद्वारा उत्पादित रियल फ्रुट जुसको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगितामा अनुमानित २० राष्ट्रका करिब ६ हजार प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट ५२ लाख रुपियाँ रहेको छ ।

प्रतिक्रिया