अफगान फुटबल र सफलताका कथा

afghan-football-win-nepalदुई दशकयता नै सबैभन्दा राम्रो लयमा रहेको नेपाली फुटबल टोली आठौँ साफ च्याम्पियनसिपमा पनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन । पहिलो चरणको समाप्तिसँगै उपाधिको दाबदार मानिएको नेपाल सेमिफाइनलमा अफगानिस्तानसँग १–० ले पराजित भयो । पराजयले भिन्न प्रतिक्रिया उब्जाएका छन् । सायद नेपालको पराजयको एक दिनपछि नेपालका चिया पसलदेखि चोकसम्म चर्चाको विषय एउटै बन्यो– ‘नेपालको हार’ । ‘रोहित चन्दले नेपाललाई डुबाए’, ‘किरणले भयंकर गल्ती गरे’, अनि ‘राजु तामाङलाई प्रतिस्थापन गरिनुको कारण के हो ?’ नेपालको हार, हारका कारण र रोहित चन्दले सदुपयोग गर्न नसकेका दुई पेनाल्टी यस साताका चर्चित विषय बने । अफगानिस्तानको लगातार दोस्रोपटक फाइनल प्रवेश नेपालीका लागि पीडा बनेर तेर्सियो । तर, त्यत्तिकै गर्विलो बन्यो– अफगानिस्तानको उन्नतिका पाटा र सफलताका शृंखलाहरू । यो सफलतासँगै अफगान खेल नायकको सूचीमा थपिए, गोलरक्षक मन्सुर फख्रियार जसले दुई पेनाल्टीसहित अन्य थुप्रै नेपाली आक्रमणलाई बचाए । यसैकारण राष्ट्रपति हमिद कारजाईले समेत खेलको समाप्तिलगत्तै फख्रियारप्रति विशेष सम्मान व्यक्त गरे ।
तीन दशक लामो युद्धले जर्जर अफगानिस्तान भयावह अवस्थाबाट मुक्त हुँदै अहिले समृद्धितर्फ लम्किएको छ । अब अफगानिस्तान ‘गृहयुद्धको देश’ भनेर होइन, ‘तेज रफ्तारमा आर्थिक वृद्धिदर भएको देश’ का रूपमा विश्व बैंक र राष्ट्र संघीय सूचीमा सूचीकृत भएको छ । २१औँ शताब्दीको सुरुवातदेखि खेलकुदमा पाइला चालेको त्यही अफगनिस्तानले दुई दशकमा प्राप्त सफलताका सूचीमा अर्को एउटा पाना थपिएको छ, आठौँ साफ च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा ।
एउटा खेलमा लक्ष्य प्राप्ति गरेपछि अर्कोमा निश्चित योजनासहित अघि बढ्ने अफगान खेल नीति हो । ‘हामीले बास्केटबल र तेक्वान्दोमा एउटा उचाइ प्राप्त गर्‍यौँ । क्रिकेटमा अघि बढ्दै छौँ । अबको चासो जुडो र फुटबल हो ।’ दक्षिण एसियाली खेलकुदमा बास्केटबलको स्वर्ण पदक जितेलगत्तै अफगान खेल अधिकारीले चुनौतीको भाषामा भनेका थिए । त्यसपछि भएका दुईवटै साफ खेलमा अफगानिस्तान फाइनलमा प्रवेश गर्‍यो । गृहयुद्धको चपेटाबाट मुक्त हँुदै सन् २००० देखि फुटबलको दुनियाँमा प्रवेश गरेको अफगानिस्तानले लगतार उन्नति गर्दै यो सफलता पाएको हो ।
गृहयुद्धपछि अफगानिस्तानले सन् २००३ को साफ गोल्डकपमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय फुटबलको दुनियाँमा आफूलाई प्रस्तुत गर्‍यो । त्यो समयमा फितलो अफगानिस्तान भारत, पाकिस्तान र श्रीलंकासँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २००४ को एसियन कपका लागि अफगानिस्तानले २००३ को अन्त्यमै छनोट खेल खेलेको थियो । किर्गिस्तानसँग जित हात पारेको अफगानिस्तान नेपालसँग पराजित भएको थियो । सन् १९४८ पछि अफगानिस्तानले सन् २००६ को विश्वकप छनोटको क्रममा २००५ नोभेम्बरमा तुर्कमेनिस्तानसँग खेल्यो । छनोटमा अफगान टोली १३–० ले पराजित भयो ।
त्यसलगत्तै भएको साफ च्याम्पियनसिपको समूह चरणमा श्रीलंकालाई पराजित गरेपछि अफगानिस्तानले फुटबलमा पनि लगातार उन्नतिका पाइला चाल्न थाल्यो । सन् २००८ सम्म अफगान फुटबलले एउटा गति लिइसकेको थियो । त्यसै वर्ष एएफसी च्यालेन्ज कपको दोस्रो चरणमा प्रवेश गरेपछि अफगानिस्तानले पछि फर्केर हेरेको छैन । सन् २०११ को एएएफसी च्यालेन्ज कपको छनोटमा भुटानमाथि एग्रिगेटको ५–० को जितसँगै अफगानिस्तानले आफूलाई नयाँ शक्तिका रूपमा स्थापित गरिसकेको थियो । सन् २०११ को साफ च्याम्पियनसिपमा भारतसँग बराबरी गरेको अफगानिस्तानले श्रीलंकासँग जित हात पार्‍यो भने भुटानलाई ८–१ ले हराउँदै अफगान फुटबलको इतिहासमै फराकिलो जितको कीर्तिमान कायम गर्‍यो । सेमिफाइनलमा शीर्ष वरीयताको नेपाललाई हराउँदै अफगानिस्तान फाइनल प्रवेश गरेको थियो ।
अफगानिस्तानको खेलकुदमा फड्को बास्केटबल र क्रिकेटबाट सुरु भएको थियो । सन् २००१ मा अफगानिस्तान क्रिकेट संघको गठनसँगै औपचारिक रूपमा यो खेलले प्रवेश पाएको थियो । त्यस्तै, अफगानिस्तानले सन् २०१० मा ट्वान्टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनायो । अफगानिस्तानले केही दिनअघि पाकिस्तानसँग पहिलो एक दिवसीय खेल खेल्यो । सन् ७० को दशकमा लोकप्रिय रहेको बास्केटबलले गृहयुद्धसँगै अफगानीसँगको साइनो तोडेको थियो । २००१ देखि फेरि लोकप्रिय रहेको बास्केटबलले फड्को मार्दै सन् २०१० को दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्यो । भलिबल, गल्फ, ट्रयाक एन्ड फिल्ड, ह्यान्डबल, बक्सिङ, तेक्वान्दो, भारोत्तलन, शारीरिक सुगठन, आइस स्केटिङ, बलिङ, स्नुकर र चेसमा आफूलाई सुधार गर्दै गयो । सालेह मोहम्मद अफगानिस्तानका पछिल्लो समयमा स्टार स्नुकर खेलाडीका रूपमा रहेका छन् ।
यो उन्नतिको कथामा अफगान खेलाडीको समर्पण, खेल भावना र मिहिनेत त कारण हँुदै हो, साथमा सन् २००१ देखि रिचर्ड हल्कब्रोकको नेतृत्वमा अमेरिकी वित्त समूह अफगानिस्तानमा रहेको थियो । यसै समूहको प्रयासमा युरोप र अमेरिकी सहयोग अमेरिकामा भित्रियो । कृषिमा भएको निर्यात र आर्थिक वृद्धिदरले अफगानिस्तानलाई समृद्ध मुलक बनाउँदै लग्यो । त्यसै समृद्धि पनि पछिल्लो समय अफगान खेलकुदको उन्नतिको कारक बनेको छ ।

प्रतिक्रिया