अखिलको चुनावी सरगर्मी बढ्यो

काठमाडौं, २६ भदौ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा नया नेतृत्वको लागि  चुनावी सरगर्मी बढेको छ । महाधिवेशन आउन एक साता बाँकी रहदा विद्यार्थी संगठनबीच आ आफ्नो प्यानल खडा गर्ने होड देखिएको छ  । विधान सम्मेलन सकिएपछि अनेरास्ववियुलाई नया नेतृत्व दिनका लागि महाधिवेशन हुन थालेको हो ।
अनेरास्ववियुभित्र नयाँ नेतृत्वका लागि  अहिले चार प्यानल खडा हुने संभावना देखिएको छ । निर्वतमान ३ उपाध्यक्षसहित महासचिव पनि नेतृत्वको दौडमा रहेका छन् । यद्यपी नविना लामालाई लक्ष्मण लम्सालको टीममा मिलाउने कुरा पनि चलिरहेको छ । विगतमा दुई प्यानलमा चुनावी मैदानमा उत्रिने अखिल अहिले चार प्यानलमा विभाजित देखिएको छ । एक गुटले आफ्नो प्यानलमा पार्न नसकेपछि अखिलमा दुई गुट टुक्रिएर चार गुट भएको हो ।
पहिलेदेखि संगै निवर्तमान उपाध्यक्ष लक्ष्मण लम्साल, भिम राई, नविना लामा र महासचिव किशोरविक्रम मल्ल अध्यक्षको दौडमा लागेका छन् । लामा र राईले उम्मेदवार घोषणा गरिसकेका छन् भने लम्साल र मल्लले प्यानल बनाए पनि उम्मेदवारी घोषणा गर्न बाँकी छ । लम्साललाई अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमको समर्थन छ भने मल्ललाई पूर्वप्रधानमन्त्री माधव नेपाल र नेता केपी ओलीको समर्थन छ । पहिले एक लाइन समातेका लम्साल र लामा तथा राई र मल्लले अलग अलग प्यानल खडा गरेका छन् । लामा र राईले  एउटै प्यानलमा नअटाएपछि आ–आफ्नो प्यानल खडा गरी चुनावी मैदानमा उत्रने भएका छन् । लामा अध्यक्ष खनाल  र  राई ओली निकट मानिन्छन् । तर उनीहरु दुवै प्यानलमा आफूलाई समाहित गर्न नसक्ने भएपछि महाधिवेशनमा अलग प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
असोज ३ देखि ५ गतेसम्म हुने महाविधेशनका लागि विद्यार्थी नेता आआफ्नो पक्षमा जनमत जुटाउन लागिपरेका छन् । अध्यक्ष पदका आकांक्षी लक्ष्मण लम्सालले सकभर सर्वसम्मत गर्ने पहल भएको जानकारी गराए । उनले अखिलभित्रको गुटउपगुट अन्त्य गर्न पार्टी पंक्ति नै सर्वसम्मत गर्ने प्रयास हुनुपर्ने बताए ।
लम्सालको टिमबाट उपाध्यक्षमा गुणराज आचार्य, धु्रव राई, दीपक गौतम, नवराज पौडेलेको नाम चर्चामा रहेको छ भने  महासचिवमा  थोमस बास्तोला तथा सचिवमा अब्दुल हुसेन खाँ, सन्तोष नेपाली राधिका खतिवडा, मेनुका पछाई, कमला बोहरा, उषाकिरण तिमिल्सेना, गौतम राई रहेका छन् भने कोषाध्यक्षमा  नीलकण्ठ आचार्य छन् ।
आफ्नो प्यानल घोषणा गरिसकेको राईको टीमबाट उपाध्यक्षमा महेश पन्त, सीपी घर्तिमगर र खुशीलाल चौधरी रहेका छन् । यस्तै महासचिवमा सरोज यादव तथा सचिवमा ऐनमहर चिरिन्जीवी पौडेल, असेस घिमिरे मेनका पछाई रहेका छन र कोषाध्यक्षमा रोशन शाक्य रहेका छन् ।
नवीना लामाको टीमबाट उपाध्यक्षमा खगेन्द्र खनाल, सीपी घर्तिमगर,  चिरन्जीवी पौडेल, महासचिवमा दीपक गौतम तथा कोषाध्यक्षमा कमल बस्नेत रहेका छन् ।
यस्तै मल्लको प्यानलबाट उपाध्यक्षमा नवराज पौडेल, रश्मी आचार्य, राजकुमार राई, सिपी घर्तिमगर रहेका छन् भने महासचिवमा रचना खड्का वा बचनबहादुर सिह उठ्ने तयारीमा छन् । खड्का हाल सचिव हुन् ।  मल्लले राई पक्षका सरोज यादव र सिपी घर्तिमगरलाई आफ्नो प्यानलमा राखेका छन् ।  यसैगरी सचिवमा बाबुराम पन्थी, दिपा शर्मा, जीवन राई, महेश गतौला, विवेक श्रेष्ठ, अमृता बराल र  सुनीता बरालको चर्चा रहेको छ ।
मल्लको प्यानललाई अध्यक्ष माधव ढुंगेलको समर्थन छ । मल्लले राई पक्षधरलाई आफ्नो पक्षमा समावेश गराउने दावी गरे । उनले सर्वसम्मतको कुरा चलिरहेको पनि बताए ।
अहिले दुबै पक्षबाट दुई–दुई प्यानल खडा भए पनि अन्तिममा दुई प्यानल बन्ने एक नेताले बताए । उनका  अनुसार नवीना लामालाई लम्सालको प्यानलमा महासचिव वा उपाध्यक्ष दिएर मिलाउने  लबिङ भइरहेको छ भने राईलाई पनि अन्तिममा मल्ल या लम्सालले पद दिएर मनाउने प्रयास गर्ने बताइन्छ । अध्यक्षका उम्मेदवार राईले जनजातिको भोट आफ्नो पक्षमा रहेको दावीसहित अध्यक्ष बन्नुपर्ने जिकिर गरेका छन् भ र ओली निकट मानिने मल्लले भने अन्तिममा दुईबीच प्रतिस्पर्धा हुने निष्कर्षसहित आ–आफ्नो तयारी अघि बढाएको बुझिएको छ ।
चारैजना अध्यक्षका आकांक्षीहरुले आफ्नो पक्षमा जनमत जुटाउन केही विद्यार्थी नेताका आफ्नो प्यानलमा नाम राखेका छन् । यता लम्सालको टीमबाट उपाध्यक्षमा अन्तिमसम्ममा नविना लामालाई मनाउने कसरत भएको बुझिएको छ । रामकुमारी झाँक्री, योगेश भट्टराई आदि लामालाई मनाउने प्रयासमा लागेका छन् ।
संगठनभित्र अराजकता बढेको भन्दै पार्टीले गत बर्ष अखिलको सम्मेलनमा हस्तक्षेप गरि रोकेको थियो । पार्टीले संगठनलाई चुस्त दुरुस्त बनाउने भने तापनि पछि अखिलको जम्बो टोली बनेको थियो । पार्टीले सचिव युवराज ज्ञवालीको संयोजकत्वमा अखिलको सुद्धिकरण गरि माधव ढुंगेलको संयोजकत्वमा १ सय ४१ सदस्यिय कमिटी बनाएको थियो । तर फेरि स्थायी कमिटीले ३ सय ४३ महाधिवेशन आयोजक  कमिटी बनाएको थियो ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा १ हजार ४ सय ३८ प्रतिनिधिले भाग लिने केन्द्रीय सदस्य दुर्गा शर्माले जानकारी गराए ।   सुर्खेत, बर्दिया, भक्तपुर, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा प्रतिनिधि छनोटको विवाद देखिएको छ ।

प्रतिक्रिया