मुक्ति अभियानअन्तर्गत दर्जनौं अपराधी पक्राउ

भक्तपुर, २६ भदौ । महानगरीय प्रहरी परिसर भक्तपुरले जिल्लामा लागुऔषध नियन्त्रण गर्नका लागि मुक्ति अप्रेसन सुरु गरेदेखि लागुऔषध कारोबार र दुव्र्यसनीमा संलग्न रहेका ४० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध कारोबारमा पक्राउ पर्नेमा भक्तपुर नगरपालिका १६ बस्ने वर्ष २५ को लक्ष्मीनारायण मानन्धर, भक्तपुर नगरपालिका १५ बस्ने वर्ष २३ का दिकेश नायबा र सोही नगरपालिका–१७ बस्ने वर्ष २५ को राजन ख्याजुलाई लागुऔषध खैरो हेरोइन, अन्य विभिन्न सामग्री र नगद ६१ हजार ५ सय रुपियाँसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसैगरी, लागुऔषध दुव्र्यसनीमा पक्राउ परेको ३९ जनालाई भने प्रहरीले अभिभावकसँग परामर्श गरी उनीहरूको जिम्मा लगाइएको छ ।
त्यसैगरी, नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने, डाँका मार्ने, चोरी गर्न संलग्न रहेकाहरूलाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको हो । अरनिको राजमार्गखण्डमा मोटरसाइकल रोकेर लुटपाट गर्न खोज्ने नगरकोट–४ का वर्ष २३ का राज नेपाली र दम्पतीलाई नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने भक्तपुर बागेश्वरी गाविस–२ का वर्ष २० का निरञ्जन लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी, विभिन्न व्यक्तिलाई इन्स्पेक्टर, असइ बनाइदिन्छु भनी लाखाँै ठगी गर्दै हिँड्ने काभ्रेपलाञ्चोक घरभई कामपा–७ कुमारीगाल बस्ने ३४ वर्षीय दीपककुमार बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर टीकाथली–४ का २२ वर्षीय राज थापामगरलाई बा.५६ प.९९४८ नम्बरको मोटरसाइकलसहित र ललितपुर उपमहानगरपालिका–१३ कुसुन्ती बस्ने २० वर्षीय सञ्जय शाहीलाई बा.२० प. ७६९६ नम्बरको चोरीको मोटरसाइकलसहित पक्राउ गरेको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।
दधिकोट गाविस–९ बस्ने दिनेश राजथलाको घरमा खुकुरी, रडसहित हतियार देखाएर डाँका मारी फरार रहेका रामेछाप गोश्वारा–३ का २९ वर्षीय चन्द्रबहादुर श्रेष्ठ र सोही ठाउँको टोकरपुर–४ बस्ने २२ वर्षीय रोहितबहादुर थापामगरलाई पक्राउ गरेको छ ।
प्रहरीले थापामगरको साथबाट सुनको मंगलसूत्र, लकेट, चाँदीको रिङ एक/एक थान, नोकिया मोबाइल र श्रेष्ठको साथबाट सुनको औँठी दुई थान, रिङ दुई थान र मोबाइल एक थान बरामद गरेको छ ।
प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा योजनाअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट १ सय ८५ जनालाई नियन्त्रणमा लिएर १९ जनालाई विभिन्न मुद्दा चलाएको र अन्यलाई छाडिएको जनाएको छ । प्रहरीले ३३ हजार बोट गाँजा फँडानी गरेको जानकारी दिँदै प्रक्राउ परेका सबैलाई प्रचलित ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया