काठमाडौ
। १५ वर्षीय विमल घर्ती मगरको दुर्लभ गोलले नेपाल आफ्नो समूहमा पहिलो स्थानमा उक्लन सफल भएको
छ ।
मंगलबार बेलुका भएको प्रतिस्प्रधात्मक फुटबलमा नेपालले अन्त्यमा गोल गरेर पाकिस्तानसँगको खेल बराबरी बनायो । खेलको १३ औं मिनेटमै नेपाल १–० ले पछाडि परेको थियो ।
यू–१६ का फरवार्ड मगरले चार मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि नेपालले साफ च्याम्पियनसिपको दोस्रो खेलमा १–१ को नतिजा निकाल्दै पाकिस्तानसँग अंक बाँडेको हो ।
कप्तान सागर थापाको प्रहारमा डेनमार्कको तेस्रो डिभिजनको क्लबमा आबद्ध पाकिस्तानी गोलकिपर युसुफ बटले फर्काएको बल विमलको खुट्टामा परेको परेको थियो । त्यही बललाई विमलले १२ यार्डबाट हल्का रपमा बायाँ खुट्टाले प्रहार गर्दै वान टच शटमा नेपालको महत्त्वपूर्ण गोल गरेका थिए ।
टंक बस्नेतको स्थानमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेका विमलले गरेको गोल नेपालको जुझारु खेलको प्रतिफल थियो ।
डेनिस क्लबमा आबद्ध फरवार्ड हसन बासिरले १३ औं मिनेटमै गोल गरेपछि पाहुना टोली १–० ले अघि बढ्यो । इंग्लिस क्लबबाट खेल्ने अदनान अहमदको फ्रीकिकमा नेपाली डिफेन्सले क्लियर गर्न नसकेको गोल १८ यार्ड लाइनको ठीक भित्र रहेका बासिरनिर पुगेको थियो । त्यही बलमा सशक्त प्रहार गर्दै बासिरले गोल गरेका थिए ।
प्रतिक्रिया