कोल्टी विमानस्थलको स्तरोन्नती हुँदै

Kolti Airportबाजुरा, १२ भदौ । बाजुरामा रहेको कोल्टी विमान स्थलको स्तरोन्नती र निर्माण कार्य तिब्र बनाईएको छ । आउँदो कात्तिक मसान्त भित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले काम जारी राखेको हो ।
गत वर्ष असोज सात गतेबाट निर्माण कार्य शुरु गर्ने गरी सम्झौता गरिएको कोल्टी विमान स्थलको धावन मार्ग कालोपत्रे कार्य मंसिरको अन्तिम साता भित्र सम्पन्न गर्ने गरी काम भइरहेको ठकेदार पदम गिरीले बताए । प्रतिकुल मौसमका कारण काम गर्न समस्या भएको उनले बताए ।
आठ करोड ११ लाख ६५ हजारको लागतमा एक वर्षको अवधीमा निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा लिएको कालिका ग्वाल्बो जेवी (प्रा)लि.ले गएको वर्ष असोज सात गते सम्झौता गरेको थियो । ६ सय मिटर लम्बाई रहको धावन मार्गको ५ सय ४० मिटर लम्बाई र २० मिटर चौडाई भागको कालो पत्रे गरिने भएको छ ।
हालसम्म सानो ट्वीनेटर विमान सेवा सञ्चालन हुँदै आएको विमानस्थलमा अब कालोपत्रेसँगै डोनियर जहाज समेत सञ्चालनमा आउने नागरिक उड्यन कार्यालय बाजुराका प्रमुख बालकुमार सिंहले बताए ।
हिलो धुवाँ धुलोका कारण बेला बेलामा अवरुद्ध हुँदै आएको कोल्टी विमानस्थल अब धावन मार्ग कालो पत्र गरिएसँगै प्रतिकुल मौसम बाहेक अन्य समयमा नियमित उडान हुने सिंहले बताए ।
कालो पत्रे कार्य सञ्चालन भइरहेपनि हाल मौसम सफा भएमा हप्ताको दुई दिन सेवा नियमित भइरहेको छ । कोल्टीमा तारा, मकालु, नेपाल एयरलाईन्स, गोमाका ट्वीनेटर जहाज सञ्चालन भइरहेका छन् ।
कालो पत्रे कार्य सम्पन्न पछि सीता, यति एरलाईन्सका डोनियर जहाज आउने पदम गिरीले बताए । विमानस्थलको स्तरोन्नती बाजुरा, हुम्ला, मुगु र कालीकोटका यात्रुहरुलाई सुरक्षित र सहज यात्राका हुने छ ।

प्रतिक्रिया