बझाङमा भाइरल ज्वरोबाट पांचको मृत्यू

bajhangकैलाली, १२ भदौ । बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने कांडा गाविसमा एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण दुई नाबालकसहित पांच जनाको मृत्यू भएको छ ।
भाइरल ज्वरोबाट मृत्यू हुनेमा ८ वर्षीय भूपिन्द्र बोहरा, कृपसिंह धामीकी ८ महिनाकी छोरी ललिता धामी, ४३ वर्षीय चन्द्रमल बोहरा, ३३ वर्षीया मन्धरा बोहरा र ३२ वर्षीय दीर्घ बोहरा रहेका छन् । भदौ पहिलो साता यता उनीहरुको मृत्यू भएको हो ।
गाउंमा प्रकोपकै रुपमा ज्वरो फैलिएपछि नियन्त्रणका लागि चिकित्सक गाविसमा पठाई दिन स्थानीयले प्रमुख जिल्ला अधिकारीसंग अनुरोध गरेका छन् ।
समयमै उपचारका लागि सदरमुकाम चैनपुरस्थित रहेको जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयमा पटकपटक खबर गरे पनि कुनै सुनुवाइ नभएको कांडाका स्थानीवासी कृपसिंह धामीले गुनासो गरे ।
धामीका अनुसार तीन पटकसम्म लगातार स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयमा धाउंदा पनि समयमा चिकित्सक नपठाएका कारण पांच जनाले अकालमै ज्यान गुमाउनु परेको हो ।
प्रभावित क्षेत्र सदरमुकाम चैनपुरबाट करीब तीन दिनको पैदल दूरीमा पर्छ । प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पनि नहुने र बिकट क्षेत्रमा रहेकाले वास्तविकता एकीन गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
कांडामा रहेको स्वास्थ्य चौकी बिगत एक महिनादेखि स्वास्थ्यकर्मी बिहीन रहेको पीडित स्थानीयले बताए । भाइरल ज्वरोबाट प्रभावितहरुले सिटामोल समेत नपाएको धामीले बताए ।
गाउंभरि फैलिएको भाइरल ज्वरोबाट कम्तिमा ३ सय प्रभावित भएका छन् । बिरामी घट्नुको साटो दिन प्रतिदिन बढ्न थालेपछि गाउंले आतंकित बनेका छन् ।
भाइरल ज्वरो नियन्त्रणका लागि औषधि सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
मंगलबार जिल्ला प्रकोप ब्यवस्थापन समितिको आकस्मकि बैठक बसी ज्वरो नियन्त्रणका लागि थप स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद शर्माले बताए ।
भाइरल ज्वरोबाट बच्न उमालेको तातो पानी र प्रशस्त मात्रामा झोलिलो पदार्थ खान तथा आराम गर्नुका साथै प्रभावित ब्यक्तिले हाछ्यु गर्दा मुख छोप्न र मास्क प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

प्रतिक्रिया