कर्मचारीको काम अंकमा देखिनुपर्छ : कोइराला

Shankar-Koiralaकाठमाडौं, ११ भदौ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भन्सार कर्मचारीहरुको काम अंकमा देखिनुपर्ने बताएका छन् ।
भन्सार प्रमुखहरुका लागि राजधानीमा आज (सोमबार) आयोजित तीनदिने कार्यशालाको समापनमा मन्त्री कोइरालाले वस्तुको मूल्यांकन नै कार्य सम्पादनको आधार भएको बताए ।
उनले छोटो दूरीका भन्सार कार्यालयबीच पनि समन्वय नहुने र मूल्यांकनमा फरक पर्ने अवस्था आउनु दु:खद् भएको बताए ।
‘आफूले पारित गरेका सुधार र आचारलाई व्यवहारमा उतार्न पर्छ,’ उनले भने, ‘सुरक्षा निकाय र भन्सारबीच सतहमा आउने गरेको द्वन्द्वमा कानूनले दिएको अधिकार प्रयोग गर्न नहिच्किचाउनुस् ।’
‘कार्यक्षेत्रमा तपाईंहरु खट्नुस् । नीतिगत रुपमा के गर्नुपर्छ म गरौंला,’ उनले भने, ‘काम गर्नेहरुका लागि पूर्वाधारको कुनै अभाव हुन दिइने छैन् ।’
भ्रष्टाचार विरुद्ध आफ्नो शून्य सहनशीलता रहेको स्पष्ट गर्दै उनले सदाचारलाई आत्मसात् गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया