‘वन तरकारी’को माग दिनप्रतिदिन बढ्दै

Ban-Tarkariधनगढी, ११ भदौ । कैलाली जिल्लाको ग्रामिण क्षेत्र र वन/जंगलमा पाइने विभिन्न जातका तरकारी विपन्न समुदायका लागि राम्रो आम्दानीको स्रोत बन्न पुगेको छ ।
वर्षायाममा आफै वनजंगलमा उम्रने वन तरकारीको बजारमा दिन प्रतिदिन माग बढ्न थालेपछि विपन्न समुदायको प्रमुख आम्दानीको स्रोत बृद्धि हुन पुगेको हो । दुई/तीन वर्ष यता वनजंगलमा पाइने तरकारीको माग शहरी क्षेत्रमा ह्वात्तै बढेको छ ।
वनजंगलमा उम्रेर त्यसै खेर जाने तरकारीको माग बढ्न थालेपछि आज/भोली ग्रामिण भेगका बासिन्दालाई टिपेर बजारसम्म पुर्‍याउन भ्याईनभ्याई भएको सहजपुरका स्थानीय कृष्ण बोहराले बताए ।
वनजंगलमा आफै उम्रेको तरकारी बजारमा राम्रो मूल्यमा खपत हुने र संकलकको पनि खासै मेहनत नहुने भएकाले वन तरकारी बरदानै सावित भएको बोहराको भनाई छ ।
वनजंगलमा निउरो, एक पाते घाँस, जिब्रे तथा विभिन्न खाले च्याउ बढि बिक्री हुने गर्छन् । जंगलबाट टिपेर ल्याएका तरकारी बजारमा बेच्दा राम्रो आम्दानी हुने गरेको धनसिंहपुरकी मुक्त कमैया लावती चौधरीले बताईन् ।
विषादी प्रयोग नगरिकनै प्राकृतिक रुपमा उम्रेको वन तरकारी अत्यन्तै स्वादिष्ट र स्वास्थ्य प्रबद्र्धक रहेको उपभोक्ताहरुको भनाई छ । धनगढी क्याम्पस रोडका अर्जुनदेब गिरीले बजारमा विषादी हालेका तरकारी भन्दा सस्तो र स्वास्थ्य प्रबद्र्धक हुने भएकाले जंगलबाट ल्याईएका तरकारी किनेर खाने गरेको बताए ।
कैलाली तथा कञ्चनपुरका सानादेखि ठूला होटलमा समेत वन तरकारी खपत हुने गरेको छ ।
माग बढे पछि डोटी, डडेल्धुरा, बैतडी जिल्ला लगायतबाट दिनहुँ वस तथा ट्रकमा ठूलो परिणाममा ढुवानी गरेर वन तरकारी ल्याउने गरिएको छ ।
वनजंगलमा आफैं उत्पादन भएको निउरो प्रति मुठा सात रुपियाँ, फुटुकी च्याउ प्रति किलो छ सय, एकपाते ७० रुपियाँ किलो, उन्यू र जिब्रे प्रति किलो डेढ सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।
बजारमा देखिएका निउरो, एकपाते, जिब्रे फुटुकी च्याउ लगायत वन तरकारी खान उपयुक्त रहेको सिनियर अहेव जनकबहादुर सिंहले बताए ।

प्रतिक्रिया