बजारमा बलियो उपस्थिति बनाउन निर्देशन

Shankar-Koiralaकाठमाडौं, ९ भदौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आउँदो चाडपर्वलाई ध्यानमा राखी बजारमा आफ्नो उपस्थिति बलियो बनाउन वाणिज्य विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
वाणिज्य मन्त्री समेत रहेका कोइरालाले नागरिक घोषणापत्र भदौ–१५ गतेभित्र कार्यान्वयनमा ल्याउन र उपभोक्ता हक संरक्षणका काममा लाग्न सरोकारवालाहरुलाई निर्देशन दिए ।
जनताको दैनिक जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले जनअपेक्षा बढी हुने गरेको दृष्टान्त दिंदै उनले चाडबाडका नाममा बजारमा हुने विकृति रोक्न समयमै सचेत हुन कर्मचारीहरुलाई आग्रह गरे ।
उनले खुल्ला बजार सरकारको नीति भएकाले सरकारी निकायहरुले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
‘तपाईंहरुलाई प्रभावकारी काम गर्न चाहिने सहयोग जुटाउने जिम्मा मेरो भयो,’ उनले भने, ‘बजार अनुगमनको काम यसरी देखियोस् कि त्यसको अनुभूति सवैले गर्न सकून् ।’
‘कार्यालय हातामा सेवाग्राहीका लागि प्रतिक्षालय, शौचालय र खानेपानीको बन्दोबस्त मिलाउनुस्’ मन्त्री कोइरालाले भने, ‘व्यक्तिगत र संस्थागत अनुगमनमा जाँदा उपभोक्तावादी संघसंस्थाहरुलाई नछुटाउनु होला ।’

प्रतिक्रिया