माओवादीको कुटाई पछि ‘ठाकुर’ बेपत्ता

धनगढी, ६ भदौं । मागेजती चन्दा नपाएको झोंकमा नेकपा–माओवादीका कार्यकर्ताले दार्चुलाको शिखर गाविसस्थित निर्माणाधिन चमेलिया जलविद्युत् परियोजनाका परामर्शदातालाई हातपात गरेका छन् ।
परियोजनाको गेष्ट हाउसमा बसिरहेका कन्सलटेन्स सहायक तथा परामर्शदाता खेलानन्द ठाकुरलाई नेकपा–माओवादीका कार्यकर्ताले मंगलबार बिहान चन्दा माग गरेका थिए । ठाकुरले १ हजार ५ सय चन्दा पनि दिएका थिए ।
यद्यपि, चन्दा रकम अप्रयाप्त रहेको भन्दै ठाकुरलाई हातपात गरेको परियोजनाका एक कर्मचारीले जानकारी दिए ।
कर्मचारी माथि हातपात भएपछि परियोजनाको कामकाज बन्द भएको छ ।
नेकपा–माओवादीका कार्यकर्ताको कुटाईखाए पछि परामर्शदाता ठाकुर स्थानीय प्रशासनलाई कुनै जानकारी नगराइ बुधबार काठमाडौं गएका छन् ।
चन्दाको विषयमा नेकपा–माओवादीका कार्यकर्ताले कुटपिट गरेर काम बन्द गराएको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय गोकुलेश्वर र लटिनाथबाट प्रहरी टोली पठाईएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया