मोर्चासँग ‘गोलमेच सम्मेलन’मा सहमति

काठमाडौं, ६ भदौं । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच ‘गोलमेच सम्मेलन’ बोलाउने निर्णय भएको छ ।
राजनीतिक समिति र मोर्चाबीच आज (बिहीबार) काठमाडौंमा भएको वार्तामा संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सम्मेलन बोलाउने निर्णय भएको ३३ दलीय मोर्चाका वार्ता टोली सदस्य मणि थापाले जानकारी दिए ।
‘गोलमेच सम्मेलन बोलाउने निर्णय भएको छ,’ उनले भने, ‘हाम्रो माग त गोलमेच सम्मेलन नै हो । उहाँहरुले मागमा सहमति जनाउँनु भएको छ ।’
स्रोतका अनुसार वार्तामा आज भएको ‘गोलमेच सम्मेलन’को सहमति लिखित रुपमा भएको छैन ।
३३ दलीय मोर्चाले ‘गोलमेच सम्मेलन’को माग गर्दै आएको छ । सोही सम्मेलनको निर्णय सुझाव अनुसार अघि बढ्नुपर्ने आफूहरुको धारणा रहेको थापाको भनाई छ ।
राजनीतिक समिति र ३३ दलीय मोर्चाको आन्तरिक तयारी पछि सम्मेलन बोलाईने छ । सम्मेलनमा विघठित संविधानसभाका दलहरुलाई बालाउने सहमति भएको छ ।
‘वार्ता सकारात्मक रुपमा अगाडि बढ्यो,’ नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले बैठक पछि भने, ‘बृहत राजनीतिक सहमतिका लागि गोलमेच सम्मेलन गर्ने सैद्धान्तिक सहमति भएको छ ।’
एमाले नेता रघुजी पन्तले दुई दिनभत्रि गृहकार्य गरी गोलमेच सम्मेलनको प्रकृया टुङगो लगाईने बताए ।

प्रतिक्रिया