कांग्रेस केन्द्रीय सदस्य पहाडीको निधन

Gopal Pahadiकाठमाडौं, ३ भदौ । कांग्रेसका केन्द्रीय सदस्य गोपालराज पहाडीको ६८ बर्षको उमेरमा निधन भएको छ ।
नेता पहाडीको जन्म विक्रम संवत २००२ सालमा संखुवासभामा भएको हो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आज (सोमबार) विहान सात वजे निधन भएको कांग्रेसले जनाएको छ । विगत लामो समयदेखि नेता पहाडी मुटु, दम, मधुमेह, उच्च रक्तचाप तथा मृगौलाको समस्याबाट पीडित रहेका थिए ।
नेपालमा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका क्रममा पहाडीले विक्रम संवत २०२९ देखि २०३५ सम्म ६ वर्ष जेल जीवन व्यतित गरेका थिए । उनी पटक–पटक हिरासतमा समेत बसेका थिए ।
नेता पहाडी विक्रम संवत २०२४ सालमा कांग्रेस नेतृ शैलजा आचार्यको अध्यक्षतामा बनारसमा गठन भएको डेमोक्रेटिक सोसलिष्ट युथ लिगको सदस्य पनि भएका थिए ।
२०५६ देखि हालसम्म उनी कांग्रेसको केन्द्रीय सदस्य रहँदै आएका थिए । उनी २०३३ देखि २०५३ सम्म कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाका सभापति, २०४८ र २०५६ मा प्रतिनिधि सभा र २०६४ मा संविधानसभाका कांग्रेसका तर्फबाट उम्मेद्वार रहेका थिए ।
नेता पहाडीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।
यसैवीच, कांग्रेसले नेता पहाडीको निधनबाट स्थब्ध भएको जनाएको छ । नेता पहाडीप्रति शोक मनाउन कांग्रेसले भदौं–३, ४ र ५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
केन्द्र लगायत जिल्लाका सबै कार्यालयहरुमा शोकका कार्यक्रम बाहेक औपचारिक कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्र बडूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पहाडीको १३ औं दिन भदौं–१५ गते केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।

प्रतिक्रिया