जनजातिका मुद्दा उचालेर टुक्राउने प्रयास

bamdevबर्दिया, २ भदौ । एमालेका उपाध्यक्ष वामदेव गौतमले एकल जातीय पहिचानसहितको संघीयताका कारण नयाँ संविधान बन्न नसकेको भन्दै सो विषयलाई धेरै उछाल्न नहुने बताएका छन् ।
गृह जिल्ला बर्दियामा आज (आइतबार) आयोजित कार्यक्रममा गौतमले एकीकृत माओवादीको एकलजातीय पहिचानसहितको मागका कारण अघिल्लो संविधानसभाले नयाँ संविधान बनाउन नसकेको बताए ।
‘एमाओवादीको एकलजातीय पहिचानसहितको संघीयताको मुद्दाले र बलमिच्याईका कारण पहिलो संविधानसभाबाट संविधान जारी गर्न सकिएन,’ उनले भने, ‘संविधानसभा विघटन हुनुमा मुख्य विवादित विषय भनेको संघीयतामा जाने भन्ने नै थियो ।’
उनले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक संघीयतामा जानुपर्ने बताए । ‘मुलुकमा जनजातीहरुको समस्याहरुलाई उचालेर साम्राज्यवादीहरुले मुलुक टुक्राउन चाहेका छन्,’ उपाध्यक्ष गौतमले भने ।
उनले मुलुकलाई बचाउन पनि मंसिर–४ गते निर्वाचन अपरिहार्य रहेको बताए । नेकपा–माओवादी पनि एउटा शक्ति भएका कारण उसलाई पनि निर्वाचनमा सहभागी गराउनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया