भाषा पास हुँदैमा कोरिया जाने ग्यारेन्टी छैन

koriyaभैरहवा, ३० साउन । इपीएस नेपाल निर्देशक लि दोङ सिकले इपीएस टपिक भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाउने ग्यारेन्टी नहुने बताएका छन् ।
एचआरडी कोरिया इपीएस सेन्टर नेपालले मंगलबार भैरहवामा आयोजना गरेको रोजगार अनुमति प्रणाली सम्बन्धि जानकारी मुलक कार्यक्रममा निर्देशक सिकले इपीएस परीक्षा कोरियामा काम गर्न जाने कामदारका लागि पहिलो चरण मात्रै भएको बताए ।
कोरिया जाने जुनसुकै कामदारले पनि अनिवार्य रुपमा कोरियन भाषा परीक्षा उर्तीण गरेको हुनुपर्ने सिकको भनाई थियो ।
उनका अनुसार हाल कोरियामा ६ लाख ४० हजार बाह्य मुलुकका कामदार छन् । जसमध्ये १ लाख ७० हजार इपीएस प्रणालीबाट गएका कामदार छन् ।
कोरियामा नेपाली कामदार १७ हजार रहेको निर्देशक सिकको भनाई छ ।
कोरियामा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक मासिक १ हजार अमेरिकी डलर हुने र स्वदेशी कामदार सरह नै सामाजिक सुरक्षा रहने उनले बताए ।
सिकले अहिले इपीएस पास गरेर कोरिया जान नपाएकाहरुले पुन: परीक्षा दिन पाउने उल्लेख गरे ।

प्रतिक्रिया