सिराहाको सारस्वरमा निषेधाज्ञा जारी

sirahaसिराहा, २५ साउन । सिराहा जिल्लामा महिला जिस्काएको विषयले ठूलोरुप लिँदा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नु परेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली प्रहार गर्नुका साथै वल प्रयोग गरेको छ ।
साउन–१९ गते धनुषाबाट वोलवम यात्रामा गएका महिलाहरुलाई सिराहा जिल्ला सारस्वर–८ का जारसिंह रेजा, मास्ता किङ राइन र कलाम साफीलगायतका केटाहरुले जिस्क्याएको विषयलाई लिएर विवाद शुरु भएको हो ।
सोही विषयमा साउन–२२ गते पौने दश वजे सारस्वर–१ स्थित हिन्दू र मुस्लिम पक्षवीच झडप भएको थियो । झडपमा हिन्दू पक्षका ३ जना र मुश्लिम पक्षका १ जना सामान्य घाइते भएका थिए ।
सोही विषयमा आज (शुक्रबार) साढे दश बजे हिन्दू पक्षका झण्डै दुई हजारको संख्यामा रहेका स्थानीय मुश्लिम टोलमा छिर्ने प्रयास गरेको केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
प्रहरीले लाठी चार्ज गरी सो समूहलाई तितर वितर गरेकोमा भीड पुन: संगठित भई मुश्लिम टोलको परालको कुन्युमा आगो लगाउने लगायतका उच्छृंखल कार्य गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
उच्छृङखल कार्य हुन थालेपछि एघार बजे प्रहरीले गरेको कारवाहीमा ७ राउण्ड टियर ग्याँस फायर भएको छ ।
घटनालाई नियन्त्रण गर्ने उद्देश्यले स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरी मुश्लिमहरुलाई आफ्नो घरबाट बाहिर आउन रोक लगाएको छ ।
सो स्थानमा प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सहितको टोली तैनाथ रही स्थिति नियन्त्रणमा लिएको छ । दिउँसो एकबजे हिन्दू पक्षका ७/८ हजार मानिसहरु जम्मा भई सारश्वर मस्जिद नजिक रहेको ६ वटा फुसको घरमा आगो लगाउँदा तनाव उत्पन्न भएको छ ।
प्रहरी कारवाहीका क्रममा ३३ राउण्ड अश्रु ग्याँस, ९ एम.एम. को पिस्तोलबाट १४ राउण्ड र सानो पिस्तोलबाट १७ राउण्ड फायर गरेर भीड तितर वितर गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले १७ जना हिन्दू पक्षीय प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये सारश्वर–१ का ३० वर्षीय रामप्रसाद मुखियाको साथबाट १ राउण्ड लोड भएको कटुवा पेस्तोल पनि बरामद भएको छ ।
उक्त स्थानमा लाहानबाट दमकल पठाइ प्रहरी र दमकलको सहायताले पौने तीन बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ ।
सो स्थानमा नेपाल प्रहरीका प्रहरी उपरीक्षकको कमाण्डमा २ सय २८ जना र सशस्त्र प्रहरीको सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा २ सय जना घटनास्थलमा तैनाथ अवस्थामा सुरक्षाकर्मी रहेका छन् ।
साथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गणबाट प्रहरी उपरीक्षकको कमाण्डमा ४४ जनाको टोली घटनास्थलतर्फ खटी गएको छ ।
यसैबीच, प्रहरीले दुवै पक्षीय समुदायका नागरिकहरुलाई संयम अपनाइ आपसी सद्भाव कायम राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया