भारत लगिँदै गरेका पाँच युवतीको उद्धार

Yubati Uddharधनगढी, २४ साउन । कैलालीको त्रिनगर सीमाबाट भारतको बंलोरतर्फ लैजाँदै गरिएका पाँच युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
झापा, गोरखा, धादिङ, काभ्रे र ललितपुर घर बताउने उनीहरुलाई केआई नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले उद्दार गरेको हो । उद्धार गरिएका युवतीहरु १७ देखि २१ वर्षसम्म रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मंगलबार साँझ त्रिनगर भन्सार हुँदै सीमावर्ती भारतको गौरीफन्टा जान लागेका युवतीहरुलाई केआई नेपालका प्रतिनिधिले सोधपुछ गर्दा स्पष्ट बोल्न नसके पछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
प्रहरी कार्यालयमा रहेका पाँच युवतीलाई समिर र सुदिर नाम बताउने पुरुषले बंलोरमा राम्रो जागिर लगाई दिने प्रलोभनमा ल्याएको नायव उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
‘समिर र सुदिर पहिला नै गौरीफन्टामा गएर बसेर युवतीहरु बोलाएका रहे छन्,’ युवतीहरुले दिएको बयान उदृत गर्दै कँडेलले भने, ‘रिक्सा भाडा दिएर आउँदै गर्नु भनेर दलालहरु पहिला नै सीमापारी गएर बसेका रहे छन् ।’
उद्धार गरिएका युवतीहरुको नाम, थर र स्पष्ट ठेगाना सुरक्षाका कारण खुलाएको छैन । उद्धार गरिएका युवतीहरुका आफन्तहरुलाई खबर भइसकेको छ । उनीहका आफन्तहरु धनगढी आएपछि जिम्मा लगाइने प्रहरीको भनाई छ ।
पूर्वी नाकामा चेकजाँचमा कडाई गरिएपछि पछिल्लामा दिनमा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर नाकाबाट दलालहरुले चेलीबेटी बेचबिखनका लागि प्रयोग गर्ने गरेका छन् । प्रहरीले विभिन्न संघसंस्थाको पहलमा बिगत एकवर्षयता एकसय २६ जना महिला तथा युवतीको उद्धार गरिएको जनाएको छ । (फाईल तस्विर)

प्रतिक्रिया