लिङ्ग पहिचान र भ्रुण हत्या समस्या

राजविराज, २३ साउन । लिङ्ग पहिचान र हत्याका कारण सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा महिलाको जनसंख्यामा कमी आएको छ ।
मुलुकमा पुरुषको तुलनामा महिलाको जनसंख्या अत्याधिक वृद्धि भईरहेका बेला पनि राजविराजमा महिलाको जनसंख्या घट्दो क्रममा देखिएको स्थानीय पञ्जाधिकारीको भनाई छ ।
अशिक्षाका कारण महिला र पुरुषवीच हुने लैंगिक विभेदका कारण यस्तो समस्या देखिएको हो । जनसंख्या घट्ने क्रममा रहेको नगरपालिकाको जन्मदर्ता रेकर्डले समेत पुष्टि गरेको छ ।
रेकर्ड अनुसार वर्षौदेखि पुरुषको तुलनामा महिलाको जनसंख्या कम हुँदै आएको छ । आ.व. २०६९/०७० को जन्मदर्ता अनुसार कुल १ हजार १ सय ९५ जन्मदर्ता मध्ये महिला ५ सय ४४ र पुरुषतर्फ ६ सय ५१ छ । पुरुषको तुलनमा महिलाको जनसंख्या १ सय ७ ले कमी हो ।
अघिल्लो आर्थिक वर्षको जन्मदर्ता रेकर्डमा समेत दर्ता भएका कुल ७ सय ९१ मध्ये पुरुषको जनसंख्या ४ सय ३७ र महिलाको जनसंख्या ३ सय ५४ छ । पुरुषको तुलनामा महिलाको संख्या ८३ ले कम छ ।
तराईका जिल्लामा वसोवास गर्ने समुदायमा छोरीको विवाहको दाईजोले पनि महिलाको जनसंख्यामा समस्या भएको छ ।
बालकल्याण समिति सप्तरीका सदस्य सुरेन्द्र गुप्ताले पुरुषको तुलनामा महिलाको जनसंख्या कम हुनुमा भ्रुण हत्या रहेको वताए ।

प्रतिक्रिया