वार्ताको निशानामा सरकार र अध्यक्ष रेग्मी

Bartaकाठमाडौं, २२ साउन । उच्च स्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अलग–अलग वार्ता गरेको छ ।
राजधानीमा आज (मंगलबार) भएका वार्तामा दुबै पक्षले विभिन्न माग अघि सारेका छन् । राजनीतिक समितिले वार्ताका क्रममा आएका सबै मागका सम्बन्धमा छलफल गर्ने जनाएको छ ।
वार्तामा नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आफ्ना १८ बुँदे मागमा वर्तमान सरकार विघठन र दलीय सरकारको मागलाई जोडदार रुपमा उठाएको छ ।
२५ बुँदे बाधा अडकाउ फुकाउ आदेशको खारेजी, उच्च स्तरीय राजनीतिक समिति भंग गरी सर्वपक्षीय गोलमेच सभा, बाध अडकाउ फुकाउ आदेशको आधारमा घोषणा गरिएको मसिंर–४ को निर्वाचन, निर्वाच सम्बन्धी ऐन, क्षेत्र निर्धारण आयोग आचार सहिंतालगायत निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यतालिकाहरु नयाँ राजनीतिक सहमति नहुँदासम्म स्थगित गर्न माग अघि सारेको छ ।
संविधान निर्माण गर्ने सुनिश्चित आधार तयार पछि मात्रै संविधानसभाको निर्वाचन गरिनुपर्ने, विगत संविधानसभामा भएका सहमति र कार्यहरुलाई स्वीकार गर्दै सहमति हुन बाँकी रहेका र अपुग विषयहरुमा मात्र केन्द्रित हुनुपर्ने, संविधान निर्माणको प्रक्रिया जारी रहेसम्म कुनै पनि प्रधानमन्त्रीले संविधानसभा विघटन गर्न नपाउने प्रावधान बनाइनुपर्ने लगायतका माग पनि मोर्चाले लिखित रुपमा राखेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले आन्दोलनरत पक्षका माग प्राप्त भएको भन्दै क्रमश: छलफल गरिने बताए । ‘मागका बारेमा समितिमा छलफल गर्छौं,’ उनले भने, ‘कति लचक भएर जान सकिन्छ भन्ने बारे पनि परामर्श हुन्छ ।पनि परामर्श हुन्छ ।’
उता, अध्यक्ष यादव नेतृत्वको मोर्चाले सरकार प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्ने माग गरेको छ । अध्यक्ष यादवले निर्वाचनका लागि माग पुरा हुनु अनिर्वाय रहेको प्रतिक्रिया दिए ।
चार दलीय संयन्त्र खारेज हुनुपर्ने, जनसंख्या अनुपातका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने, मतादाता नामावली संकलनका लागि म्याद थप्नुपर्ने तथा संविधानसभामा कुल सिट संख्याको ५८ प्रतिशत समानुपातिक हुनुपर्ने शर्त अध्यक्ष यादवको छ ।
एमाले नेता रघुजी पन्तले असन्तुष्ट दलहरुका माग आफूहरुलाई प्राप्त भएको बताए । उनले आएका मागहरुमा आन्तरिक छलफल पछि वार्ताको टेबुल मार्फत टुङगो लगाईने उल्लेख गरे । (तस्वीर सौजन्य प्रकाश दाहाल)

प्रतिक्रिया