बाबुराम भट्टराईलाई आरामको जरुरत छ

Kamal-Thapaकाठमाडौ, ९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियताका लागि राजावादी र माओवादीवीच सहकार्य हुन सक्ने बताएका छन् ।
काठमाडौंमा आज (बुधबार) आयोजित कार्यक्रममा अध्यक्ष थापाले तोकिएको समयमा निर्वाचन हुन नसके राजावादी र माओवादी मिलेर जानुपर्ने बताए ।
‘नेकपा–माओवादीका कारण नभई चार राजनीतिक शक्तिका कारण निर्वाचन अवरुद्ध हुने सम्भावना छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा राष्ट्रियताको रक्षाका लागि राजा र माओवादीसहित सबै राष्ट्रवादी शक्तिवीच सहकार्य हुनु पर्छ ।’
उनले नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, सचिव नेत्रविक्रम चन्द्र र देब गुरुङसँग आफ्नो भेटवार्ता भएको बताए । ‘अहिले पनि नियमित सम्पर्क भईरहन्छ,’ उनले भने, ‘राष्ट्रियता धरापमा परेकाले रक्षाका लागि राष्ट्रवादी शक्तिहरुवीच एकता आवश्यक छ ।’
‘मोहन बैद्यजीले अलि हिम्मत गरेर राष्ट्रियताको रक्षा र सम्बद्र्धनका लागि पूर्वराजसँग सहकार्य हुन सक्छ,’ उनले भने ।
अध्यक्ष थापाले राजा र माओवादी सहकार्य गरेर जानका लागि नेपालगञ्जमा बाबुराम भट्टराईले पहिलो पटक प्रस्ताव गरेको बताए । ‘माओवादी नेता नरेन्द्रजंग पिटरको संयोजनमा नेपालगञ्जका पूर्व मेयर धवल शम्शेर राणाको घरमा बाबुराम भट्टराईले मसँग राजा र माओवादीवीच सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका हुन्,’ उनले भने ।
राहत वितरण गरेको विषयलाई लिएर पूर्व प्रधानमन्त्री भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्नु पर्छ भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै अध्यक्ष थापाले भने, ‘प्रधानमन्त्रीबाट हटेपछि बाबुरामजीको अभिब्यक्ति, ब्यवहार र कार्य हेर्दा उहाँलाई आरामको आवश्यकता छ ।’

प्रतिक्रिया