एमाओवादी नेतृत्व व्यवस्थापनमा असफल

Prakashman-Shingकाठमाडौं, ६ साउन । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टी व्यवस्थापन गर्न नसक्ने एकीकृत माओवादीको नेतृत्वले मुलुक र नागरिकका समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
वीपी कोइरालाको ३१ औं स्मृति दिवसका अवसरमा जिल्ला कार्यसमिति भक्तपुरले आज (आइतबार) आयोजना गरेको कार्यक्रममा सिंहले पार्टी व्यवस्थापन गर्न नसक्ने नेताहरुले मुलुकलाई सहि दिशामा लैजान नसक्ने टिप्पणी गरे ।
‘हेटौंडा महाधिवेशनको मसी सुक्न नपाउँदै एकीकृत माओवादी पदाधिकारीविहिन पार्टी बनेको छ,’ उनले भने, ‘पार्टी व्यवस्थापन गर्न नसक्ने नेताहरुले मुलुक र नागरिकका भावना समेटेर जान सक्दैनन् ।’
एमाओवादीको विस्तारित बैठकमा पदाधिकारी विहिन केन्द्रीय समिति बनाउने तयारी भईरहँदा कांग्रेस महामन्त्री सिंहको सो टिप्पणी आएको हो ।
मधेसवादी दलहरु र एकीकृत माओवादी संघीयता विरोधी रहेको बताएका महामन्त्री सिंहले कांग्रेसले सबैलाई मिलाएर जाने खालको संघीयता ल्याउन खोजेको बताए ।
‘मधेसवादी दलहरु एक मधेस प्रदेश माग्छन् । एकीकृत माओवादी एकलजातीय पहिचानको संघीयता माग्छ,’ उनले भने, ‘कांग्रेसले मात्रै सबैको पहिचानलाई समेट्ने जातीय सद्भाव रहने संघीयता बनाउन चाहेको छ ।’
महामन्त्री सिंहले मंसिर–४ को निर्वाचन सार्न केही तत्व प्रयासरत रहेको बताए । ‘निर्वाचन सार्ने योजनामा केही तत्व लागेको छ,’ उनले भने, ‘तर कांग्रेसले तोकिएकै समयमा निर्वाचन गराउन लागीपरेको छ ।’

प्रतिक्रिया