कैलाली जिल्लामा डुबानका कारण समस्या

kailaliकैलाली, ५ साउन । कैलाली जिल्लामा अविरल वर्षासँगै बाढी आएपछि विभिन्न क्षेत्रमा डुबान गरेको छ । डुबान पछि जिल्लाको जनजीवन अस्तब्यस्त भएको छ ।
धनगढी नगरपालिकासहित आधा दर्जन गाविस शुक्रबार रातिदेखि डुवानमा परेका छन् । बाढी र डुबानबाट धनगढी नगरक्षेत्र प्रभावित भएको छ । नगरक्षेत्रमा अहिलेसम्मकै उच्च बाढी आएको हो । बाढीले सडकमा आवात जावतमा समस्या भएको छ ।
धनगढी नगरपालिकाको शिवनगर, बसन्तटोल, क्याम्पस रोड, सेतोपुल, तारानगर, उत्तरबेहडी, बिशालनगर, धनगढी गाँउ, शान्तिटोल लगायतका वस्तीका तीनसय भन्दा बढि परिवार बाढीका कारण बिस्थापित भएका छन् ।
तारानगरमा रहेको आमाको माया छात्रावासका २७ जना विद्यार्थीलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका छन् । छात्रावाससंगै जोडिएको वस्तीका सात परिवारलाई पनि सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
बाढी र डुबानका कारण धनगढीका सबै विद्यालय र क्याम्पस बन्द गरिएको छ । कन्द्रा नदीले डुबानमा पारेको पहलवानपुर घुम्नी भाकलका ८५ परिवारलाई स्थानीय विद्यालयमा राखिएको छ ।
गेटा गाविस श्रीलंकामा रहेका चार सयभन्दा बढि मुक्त कमैया परिवार बाढीमा फसेका छन् । उनीहरुको उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा यातायात अबरुद्ध भएको छ ।
उर्मा, चौमाला, पहलवानपुर, फुलवारी, धनगढी नगरपालिकामा गरी दुई दर्जन भन्दा बढि घर बाढीले क्षति बनाएको प्रहरीले जनाएको छ । घोराहा नदीमा आएको वाढीले बगाउँदा फूलवारी गाविसका २५ वर्षीय घुमन राना बेपत्ता भएका छन् ।

प्रतिक्रिया