प्रतिवेदन कार्यान्वयन गर्न पूर्वअध्यक्ष खोज्दै

nepal student uniyanकाठमाडौं, ४ साउन । नेपाल विद्यार्थी संघको आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएका कांग्रेसका महामन्त्री प्रकाशमान सिंह नेतृत्वको कार्यदल पछिल्लो समय झनै अलमलमा परेको छ ।
आफैले तयार पारेको प्रतिवेदन कार्यान्वनय गराउन नेविसंघका पूर्व अध्यक्ष खोज्न थाले पछि एघारौं महाधिवेशन ओझेल थालेको हो । महामन्त्री सिंहले आफ्नै प्रतिवेदन कडाईका साथ कार्यान्वयन गर्न नसकेको आरोप छ ।
महामन्त्री सिंहको नेतृत्वमा नेविसंघको विवाद मिलाउन चन्द्र भण्डारी, बद्री पाण्डेलगायतका नेताहरु सम्मिलित कार्यदल बनेको थियो ।
स्रोतका अनुसार महामन्त्री सिंहले नेविसंघका पूर्व अध्यक्षहरुलाई कार्यदलको प्रतिवेदन अनुसार विवाद मिलाउन आग्रह गरिरहेका छन् । यद्यपि, विवादमा परिने डरले सिंहको प्रतिवेदन कार्यान्वयन गर्न पूर्व अध्यक्षहरुले अस्वीकार गर्दै आएका छन् ।
महामन्त्री सिंहले केशव सिंह, गोविन्द भट्टराईसहितका पूर्व अध्यक्षहरुसँग विवाद मिलाउन सहयोग गर्न आग्रह गरेका थिए ।
नेता शेरबहादुर देउवा समूहका तर्फबाट नेविसंघको विवाद मिलाउने जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएको छ । महतले आफ्नै समूह भित्रको विवाद पनि मिलाउन नसकेको आरोप खेपिरहेका छन् ।
प्रतिवेदन कार्यान्वयनका लागि पूर्व अध्यक्षहरु नै अनिच्छुक देखिए पछि नेविसंघको विवाद र महाधिवेशन झनै अनिश्चित भएको नेताहरुको भनाई छ ।
उता, नेविसंघले असार–२६ गते गर्ने भनिएको पत्रकार सम्मेलन हालसम्म गर्न सकेको छैन । असार–२५ गते केन्द्रीय समिति बैठकले नेविसंघको विधान, क्याम्पस र जिल्लाको विवाद टुङ्गाएर महाधिवेशनको तयारी गर्ने निर्णयसहित पत्रकार सम्मेलनको टुङगो लगाएको थियो ।
नेविसंघ नेतृत्वको हालसम्मका कार्यशैलीका कारण तत्काल विवाद अन्त्य र विधानको टुङ्गो लाग्ने अवस्था नरहेको स्रोतले जनायो छ ।
असार–२५ गते सानेपामा बसेको नेविसंघको जम्बो केन्द्रीय समिति बैठकले भदौ–२९, ३० र ३१ गते काठमाडौंमा एघारौं महाधिवेशन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार भदौ दोस्रो सातासम्म क्याम्पस र जिल्ला अधिवेशन सकिसक्नु पर्ने छ ।
पदाधिकारीमा ‘टीके प्रथा’ राख्न दवाव
यसैवीच, नेविसंघको हालको जम्बो कार्य समितिका अधिकांश सदस्यले पदाधिकारी नियुक्तिमा जोड दिएका छन् । विशेष गरेर वरिष्ठ सदस्यहरुले आगामी नयाँ कर्यासमितिमा अध्यक्षले धेरै पदाधिकारी नियुक्त गर्न सक्ने प्रावधानसहितको व्यवस्था राख्न दवाव दिएका हुन् ।
वर्तमान कार्यसमितिका सदस्यलाई नेविसंघको महाधिवेशनमा उम्मेद्वारी दिने व्यवस्था मातृसंस्था कांग्रेसले कटौती गरिदिए पछि मनोनयनको व्यवस्थामा दवाव परेको स्रोतको भनाई छ ।
उता, वर्तमान समितिमा रहेका सदस्य र पदाधिकारीलाई महाधिवेशनमा उम्मेद्वारीबाट बञ्चीत गराए पछि निर्णय फिर्ता लिन जम्बो कार्यसमितिले कांग्रेससँग आग्रह समेत गरेको छ ।
त्यसै गरी, नेविसंघले गठन गरेका दुई वटा समितिहरु पनि अलमलमा छन् । नेविसंघको मुख–पत्र ‘संक्रान्ति’ प्रकाशनका लागि गठन गरिएको समितिका सदस्यहरुले हालसम्म जानकारी पाएका छैनन् । अध्यक्ष रञ्जीत कर्णकै अध्यक्षतामा सो समिति छ ।
नेपाली कांग्रेस र नेविसंघको दृष्टिमा अब नेपालको शिक्षा कस्तो हुने भन्ने विषयमा शिक्षाप्रति धारणा बनाउन गठन भएको शैक्षिक दृष्टिकोण समितिका संयोजक र सदस्यले पनि पत्र पाएका छैनन् । समितिमा धर्मेन्द्र नेम्वाङ संयोजक छन् ।
उता, नेविसंघको महाधिवेशन उथलपुथलमा परेका बेला संस्थापन र देउवा समूहका विद्यार्थी नेताहरुले धमाधम उम्मेद्वारी घोषणा गर्न छाडेका छैनन् । पछि अर्को पदमा बार्गेनिङ गर्न अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको नेविसंघकै नेताहरुको भनाई छ ।
‘फेसबुक’बाट धमाधम अध्यक्षमा उम्मेद्वारी घोषणा
हालसम्म संस्थापनबाट मनोजमणि आर्चाय, भुपेन्द्रजंग शाही, कुन्दन काफ्ले, नीलकण्ठ रिजाल, गजेन्द्र कार्की, केदार कार्की, गुरु वराल, प्रतिमा गौतम, पदमराज पन्त, बाबुराम कोइराला, प्रमोदहरि गुरागाईं, सृजना अधिकारी र दीपक भट्टराईले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
उता, नेता देउवा समूहका तर्फबाट पनि नयनसिंह महर, राजीव ढुङगाना, जितजंग बस्नेत र शोभराम बस्नेले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन् । अधिकांश विद्यार्थी नेताले ‘फेसबुक’बाट उम्मेद्वारी घोषणा गरेका हुन् । उनीहरुले ‘फेसबुक’बाटै मत पनि माग्ने गरेका छन् ।
संस्थापन समूहबाट मनोजमणि आर्चाय र भूपेन्द्रजंग शाही तथा देउवा समूहबाट नयनसिंह महर र जितजंग बस्नेत मध्ये एकजना विजयी हुने विद्यार्थी नेताहरुको भनाई छ ।
पहिलो ‘टीके’ अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की
नेविसंघको कार्यकालमा पहिलो ‘टीके’ अध्यक्षको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीले पाएका थिए ।
नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला हुन् । त्यस पछि शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की (पहिलो ‘टीके’ अध्यक्ष), बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउँद, धनराज गुरुङ ( दोस्रो टीके अध्यक्ष), गोविन्दराज भट्टराई(तेस्रो ‘टीके’ अध्यक्ष भए पछि महाधिवेशनबाट पुन: जितेको), विश्वप्रकाश शर्मा, गुरु घिमिरे, केशव सिंह (चौथो ‘टीके’ अध्यक्ष), पार्टी फुटे पछि प्रजातान्त्रिकबाट किशोरसिंह राठौर र संस्थापनबाट महेन्द्र शर्मा (पाँचौ ‘टीके’ अध्यक्ष), प्रदीप पौडेल, कल्याणकुमार गुरुङ (प्रजातान्त्रिक तर्फको नेविसंघ) र रञ्जीत कर्ण (छैटौं ‘टीके’ अध्यक्ष) ले जिम्मेवारी लिई सकेका छन् ।
प्रदीप पौडेलले आन्तरिक विवाद थेग्न नसके पछि २०६७ चैत–१९ गते पदबाट राजीनामा गरेका थिए । उनले आफ्नो राजीनामा सभापति सुशील कोइरालालाई बुझाएका थिए ।
त्यस पछि कोइरालाले २०६८ माघ–२१ गते रञ्जीत कर्णलाई छ महिनाको कार्यादेश सहित महाधिवेशन तदर्थ समितिको संयोजक बनाएका हुन् ।
एकसय दश सदस्सीय कार्यसमितिले महाधिवेशन गर्न सक्दैन भनेर अध्यक्ष प्रदीप पौडेलसँग राजीनामा मागेका सभापति कोइरालाले संस्थापन र देउवा पक्षको चित्त बुझाउन एकसय २१ सदस्सीय महाधिवेशन तदर्थ समिति बनाए ।
ठूलो कार्यसमिति भनेर राजीनामा दिन दवाव दिएका कोइरालाले नै एकसय २१ सदस्सीय जम्बो समिति बनाएको आरोप लागेको छ ।

प्रतिक्रिया