उपचारमा सहयोग पुर्‍याई दिन याचना

Sahayogकाठमाडौं, २ साउन । ‘हाईड्रो क्याफलस’ रोगले ग्रसित विशाल राउतको उपचारमा सहयोग उपलब्ध गराई दिन सरकार र सरोकारवालासँग आफन्तले अपील गरेका छन् ।
साडा–३, महोत्तरीका रामरतन राउत र कवितादेवी राउतका ११ महिने बालक विशाल राउतको टाउको उमेरको हिसावले धेरै बढ्दै गएको आमा कविता देवीले जानकारी दिईन् । उनले उपचारमा खर्च अभावका कारण विशालको स्थिति नाजुक बन्दै गएको भन्दै सहयोगको याचना गरिन् ।
सिद्धि मेमोरियल अस्पताल, भक्तपुरमा उपचार गराईरहेका विशालको उमेर अनुसार नर्मल ४० देखि ४५ सेण्टिमिटर हुनु पर्नेमा उनको टाउको अहिले ७५ सेण्टिमिटर ठूलो रहेको उपचारमा सम्लग्न डा. जितेन्द्र ठाकुरले जानकारी दिए ।
जन्मेको दुई महिनाबाट बढ्दै गएको टाउकाको वजन अत्यधिक बढ्दै गएपछि उपचारका लागि तीनदिन पहिले सिद्धि मेमोरियल अस्पतालमा बच्चालाई भर्ना गरेको आमा कविता देवीले जानकारी दिईन ।
‘टाउकाको वजन बढी भएकाले पछाडि ठूलो घाउ भएको छ,’ आमा कवितादेवीले भनिन्, ‘डाक्टरले घाउ निको नभै अप्रेशन हुँदैन भन्छन् । हामीसँग अप्रेशन गर्ने पैसा पनि छैन । मेरो छोराको ज्यान बचाईदिनोस् ।’

प्रतिक्रिया