समानुपातिक सिट बढाउन आन्दोलन गर्नुस्

Puspakamal-Dahalकाठमाडौं, ३१ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले समानुपातिक सिट संख्या बढाउन माग गरेर आन्दोलनमा उत्रन नेपाल आदिवासी जनजाति महासंघसँग आग्रह गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (सोमबार) आदिवासी जनजाति महासंघको ज्ञापन–पत्र बुझ्ने क्रममा दाहालले आदिवासी र जनजातिका मागप्रति आफू सधैं सकारात्मक रहेको दोहर्‍याए । उनले जनजातिहरुले उठाएका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन समेत दिए ।
‘यो मागलाई लिएर तपाईहरु सडक संघर्षमा उत्रेपनि हामी सहयोग गर्न तयार छौं,’ अध्यक्ष दाहालले भने, ‘जनजातिका मागका विषयमा मुख्य चार राजनीतिक दलहरुसँग पनि छलफल गर्नेछु ।’
महासंघले समानुपातिक निर्वाचन प्रणालीको प्रतिशत् र मन्त्रिपरिषद्बाट मनोनित गरिने सिट संख्या घटाउने सरकार र प्रमुख चार राजनीतिक शक्तिहरुको निर्णयप्रति विरोध गर्दै आएको छ ।
‘सरकार र ठूला राजनीतिक दलले गरेको निर्णयले संविधानसभामा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, अपाङ्ग, पिछडावर्ग, महिला र पिछडिएको क्षेत्रको प्रतिनिधित्व घट्ने सुनिश्चित छ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘समानुपातिक सिट संख्यामा नै २६ वटा आदिवासी जनजातिको प्रतिनिधित्व हुन सकेको थिएन ।’
समानुपाति प्रणाली तर्फ ६० प्रतिशत् र प्रत्यक्षतर्फ ४० प्रतिशत कायम गर्नुपर्ने, मन्त्रिपरिषद्बाट मनोनित गरिने २६ सिट संख्या नघटाउन माग गरेको महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिए ।

प्रतिक्रिया