विकासका नाममा मात्रै झण्डैं १४ करोड खर्च

Uppar-Tamakoshi-Hydro-Powerदोलखा, २८ असार । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पाँच आर्थिक वर्षमा सामाजिक विकासतर्फको एकतिहाई भन्दा बढि रकम खर्च गरेको छ ।
सामाजिक विकास विभागका प्रमुख एवम् जनसम्पर्क अधिकृत डा.गणेश न्यौपानेका अनुसार हालसम्म सामाजिक विकासतर्फ १३ करोड ४२ लाख ४२ हजार ४ सय ५९ खर्च भइसकेको छ । माथिल्लो तामाकोशीमा सामाजिक विकासको बजेटमा अनियमितता भएको आवाजमा पनि उठिरहेको छ ।
डा.न्यौपानेले जग्गा अधिग्रहणतर्फ मात्रै सातकरोड ८० लाख ७१ हजार ४ खर्च भईसकेको जानकारी दिए । विकासका नाममा खर्च उल्लेख्य भईसके पनि परिणाम न्यून रहेको स्थानीय उपभाक्ताको आरोप छ । स्थानीयले आयोजनाको खर्च रकमका बारेमा पार्दशी गरिनु पर्ने बताए ।
सामाजिक विकासमा पाँच करोड ६१ लाख ७१ हजार ४ सय ५४ खर्च भएको छ । आर्थिक वर्ष २०६३/६४ बाट सामाजिक विकासको काम शुरु गरेको माथिल्लो तामाकोशीले सात आर्थिक वर्षमा सो रकम खर्च गरेको हो ।
खर्च रकम मध्ये सबै भन्दा बढि क्षतिपूर्ति र स्थानान्तरण घरभाडातर्फ एककरोड ३२ लाख ६८ हजार ६ सय ८७ खर्च भएको छ ।
कुल लागत ३५ अर्ब २९ करोड रहेको माथिल्लो तामाकोशी आयोजनाको १ दशमलव १ प्रतिशत्ले करीव ४० करोड आयोजना प्रभावित क्षेत्रको सामाजिक विकास र वातावरणीय प्रभाव न्यूनीकरणमा खर्च गर्नु पर्ने व्यवस्था छ । करीब एकतिहाई सामाजिक विकासको रकम खर्च भइसकेको हो ।
आथिर्क वर्ष २०६६/०६७ मा सबैभन्दा बढि एककरोड ७३ लाख ८० हजार ७ सय ६८ र चालु वर्षमा एककरोड १३ लाख ३७ हजार ६ सय ९८ खर्च भएको छ ।
यसैबीच, आयोजनाले जनचेतना तथा सञ्चार शीर्षकमा अहिलेसम्म १० लाख ७२ हजार ५ सय ७० खर्च गरेको छ ।
चालु वर्षमा आयोजनाले नेपाल पत्रकार महासंघ दोलखा शाखालाई ९० हजार ४ सय अनुदान दिएको छ ।

प्रतिक्रिया