न्यायाधीशले सुनाए गजल

काठमाडौं, २३ असार । न्यायाधीश रामचन्द्र राई इजलासमा भएको भए फैसला सुनाइरहेका हुन्थे या त कुनै मुद्दाउपर आदेश गरिरहेका हुन्थे होलान् । तर, शनिबार राजधानीमा आयोजित एककार्यक्रममा भने न्यायाधीश राई आफ्नो अनुभव सुनाउँदै थिए । त्यति नै बेला उनले एकाएक गजल वाचन गर्न थालेपछि कार्यक्रममा सहभागी आश्चर्यमा परे । न्यायाधीशले गजल सुनाउन थालेसँगै आश्चर्यमा परेका कार्यक्रमका सहभागीले गजल सुनिसकेपछि भने ‘वाहवाही’ गर्न थाले ।

ईश्वर भए पक्षपात छलछाम हुँदै हुन्न
जालझेल असमानताको काम हुँदै हुन्न

धर्म, कर्म पनि किनबेच हुँदै छ अचेल
ईश्वरले लिने कुनै त्यस्तो दाम हुँदै हुन्न

स्वर्गको नर्कको कुरा ढोंगीहरुको कुरा
पाप पखाल्ने कुनै त्यस्तो धाम हुँदै हुन्न

ईश्वर भए निरङ्कार–निराकार नै होला
विष्णु, जेसस, अल्लाह कुनै नाम हुदै हुन्न

ईश्वरको खोजीमा मान्छे विवेकशून्य छ
नत्र मन्दिर, गिर्जा, मस्जिदमा लाम हुदै हुन्न
न्यायाधीश राईले गजल होइन, गजलजस्तो लेखिटोपलेको उल्लेख गर्दै आफ्नो गजल संग्रह ‘सत्ताभोगीलाई बेमौसमी फल’बाट केही गजल सुनाउन भ्याए । आफ्नो अनुभव सुनाउने क्रममा राजनीतिकर्मीप्रति तीव्र व्यंग्य कसेका उनले ‘सत्ताभोगीलाई बेमौसमी फल’ शीर्षकको गजल यसरी सुनाए :
जालीझेलीहरु चारचौरास चलेको चल्यै छन्
राष्ट्रियताको भाव सोच्नेहरु ढलेको ढल्यै छन्

दण्डहीनताले ठूलो प्रश्रय पाएको छ मुलुकमा
अघोरी नेताहरु जनतालाई छलेको छल्यै छन्

गरेर खान पनि नपाएर ठूलो जमात मुलुकमा
शोकको ज्वालाले दनदन्ती जलेको जल्यै छन्

परतन्त्री राजनीतिक संस्कार रहेकोले मुलुकमा
स्वाभिमानी देशवासीको मन गलेको गल्यै छन्

नबजेर के भो र सिर्जनाका धुनहरु मुलुकमा
सत्ताभोगीलाई बेमौसमी फल फलेको फल्यै छन्

भोजपुर छिनामखुमा जन्मेका राई पेसाका हिसाबले लामो समयदेखि न्यायसम्पादन क्षेत्रमा क्रियाशील छन् । विभिन्न जिल्लामा न्यायाधीश भई न्यायसम्पादन गरिसकेका उनले ‘विवेक शून्यताको क्षण’ नामक कृतिसमेत प्रकाशनमा ल्याइसकेका छन् । एक वर्षअघि मात्र प्रकाशित उनको गजल संग्रहमा ७४ थान गजल समेटिएका छन् । हालै पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त राईले आफ्नो सम्मानका लागि आयोजित बधाई तथा सम्मान कार्यक्रममा अनुभवसँगै गजल सुनाएका हुन् । छिनामखु सरोकार समाजले रामचन्द्रसँगै हालै मात्र न्यायाधीश पदमा नियुक्त तेजबहादुर राईलाई पनि सम्मान गरेको हो । छिनामखु गाविसमा जन्मेर न्यायाधीश पदमा नियुक्त भएकाले उनीहरुलाई सम्मान गरिएको समाजका दिवस कोयू राईले जानकारी दिए ।
न्यायाधीश रामचन्द्रले न्याय क्षेत्रमा प्रवेश जटिल रहेको उल्लेख गर्दै त्यहाँ प्रवेशपछि पद थामिखान झन् जटिल रहेको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया