कम्युनिस्टमा झन् शोषण प्रवृत्ति छ

Padamतपाईं पुरस्कारविरोधी मान्छे, यो अन्तर्राष्ट्रिय पुरस्कार कसरी ग्रहण गर्नुभयो ?
म पुरस्कार विरोधीभन्दा पनि एकेडमीले हरेक वर्ष कवि बनाउन दिने पुरस्कार र त्यो शैलीको विरोधी हुँ । मुलुकका अरू पनि धेरै पुरस्कारका लागि इज्जत र ज्यान फाल्नुपर्ने भएका कारण मलाई पुरस्कारमा अरूची पैदा भएको हो । यो पुरस्कारकै सन्दर्भमा चाहिँ मैले केही ठाउँमा भनेकै छु, कसरी प्रतियोगितामा भाग लिएँ भनेर । रेनुकाजीले कविता पठाइदिइन्, आयोजकले घोषणा गरे । पुरस्कार पाउन अरू कुनै मिहिनत गर्नु परेन । अनि हजार डलर रकम आफैँमा अर्थपूर्ण पुरस्कार हो ।
नेपालका पुरस्कार निकै बदनाम छन् भन्ने हल्ला छ नि ?
मलाई पनि त्यस्तै लाग्छ । निजी क्षेत्रबाट दिइने पुरस्कारमा त गडबडी हुनु केही स्वाभाविक होला । उनीहरूको आफ्नै रुची र स्वार्थ पनि हुन्छ होला । तर, राज्यको कोषबाट रकम झिकेर दिइने पुरस्कारमा अझ बढी धाँधली र माफियागिरी छ । आलोचक र पत्रकार पनि यी सबै पुरस्कारलाई एउटै ड्याङमा राखेर हेर्ने गर्छन् । पुरस्कारमा पहुँच र लेनदेनका कुरा बजारमा हरेकपटक सुनिन्छन् । सुनिएका कुरा आधा मात्रै सत्य हुन् भने पनि स्थिति निकै लाजमर्दो देखिन्छ ।
नेपाली साहित्यको पछिल्लो प्रवृत्ति कस्तो छ ?
म पहिला चाहिँ हरेक कुरालाई नकारात्मक कोणबाट हेर्ने गर्थेँ । अहिले लगभग त्यसको उल्टो ढंगले हेर्छु । अहिले कतिपय समस्या भए पनि नेपाली साहित्य बजारमा पुग्न र व्यावसायिक हुन थालेको छ । साहित्य लेख्नेहरू खुस्किएका हुन्छन् भन्ने धारणा पनि फेरिँदैछ । यसले गुणस्तर भएका कृति स्थापित गराउन मद्दत गर्छ । तर, अझै पनि सरकारी र ठूला संस्थामा चाहिँ चन्द्र शमशेरहरू नै बसेका छन् । कुतर्कमा माहिर, सामन्तवादी सोचका ।
नेपाली कविताको स्तर खस्किएजस्तो लाग्दैन ?
हरेक युगमा भुपी र रिमाल हुन सम्भव छैन । त्यस्ता हस्ती जीवित हुँदा मात्रै स्तर बढेको सोच्नु अलिक अतिवादी सोच हो । त्यस्ता ‘ट्रेन्ड सेटर’ सधैँ नभए पनि साहित्यले एउटा बाटो बनाएरअघि बढिरहेकै हुन्छ । बरू अहिलेका कवितामा अझ जनताका स्वर तीखो गरि सुनिन थालेका छन् । कविहरू पनि राजनीति र समाज बुझ्ने प्रयासमा छन् । दबेका र हराउन लागेका मिथक पनि आएका छन् कवितामार्फत् । आफ्नो समूहबाहेक अरूको पनि पढ्ने र अन्तरक्रिया गर्ने चलन बढेको छ । यी त राम्रा कुरा हुन् नि ।
साहित्यमा समस्या चाहिँ केही छैनन् ?
धेरै छन् । अझ अहिले मिडिया र त्यहाँ पहुँच भएका मान्छेको दादागिरी चल्नु, उनीहरूले जे लेखे पनि अब्बल मानिनु, साहित्य गाउँ र समाजसँग टाढिँदै जानु र विदेशमा साहित्य लैजान नसक्नुजस्ता समस्या मैले देखेको छु । प्रगतिशील भनिने संगठन पनि यस्ता गम्भीर विषयमा मौन छन् । विदेशमा यस्ता विषयमा बहस हुने गरे पनि यहाँ चाहिँ कतै सामान्य छलफल भएको समेत थाहा छैन ।
अहिले उपन्यास र गद्य लेखन बढे पनि किन कवितामै रमाउनुभएको हो ?
अहिले उपन्यास र गद्यको बजार बढेको देखिएको छ । त्यो एकहदसम्म राम्रो र खुसीको कुरा हो । म पहिलेदेखि नै कविता लेख्ने र अखबारमा सम्पादनको काम गर्ने भएकाले त्यही काममा छु । वामपन्थी राजनीतिको विकृतिमा केन्द्रित रहेर एउटा उपन्यास लेख्दै छु । कुनै ठूलो समस्या नआएमा केही महिनामा त्यो बजारमा आउँछ ।
थोरै समयमा के कारणले उपन्यासका पाठक बढेका होलान् ?
जासुसी उपन्यास र युधीर थापाहरूका उपन्यास त पहिला पनि बिकेकै थिए । त्यसबाहेक चाहिँ कोर्समा पारिएका र राज्ययन्त्रले चर्चा गरिदिएका सरकारी लेखकका उपन्यास बिक्थे । एक प्रकारले उपन्यासका पाठक केही मात्रामा पहिले पनि थिए । यतिखेर प्रकाशनको व्यावसायीकरण र केही राम्रा उपन्यास बजारमा आएकाले पाठक बढेजस्तो लाग्छ । मुलुकमा अहिले साक्षरता पनि बढेको छ र फेसनकै रूपमा भए पनि पठन संस्कृतिको विकास हुँदै गएको छ । अनि मिडियाले पनि आफ्नो चरित्रअनुसार बिक्ने कुरालाई झन् मार्केटिङ गरिरहेको छ ।
अहिले कविताको बजार चाहिँ कस्तो छ ?
कविता जहिले पनि अरू विधाभन्दा कम नै बिक्छ । कविताका पाठक कम र विशेष हुन्छन् । तर, साहित्यमा सबैभन्दा बढी लेखिने विधा चाहिँ यही हो । कविता धेरै लेखिने, धेरै छापिने र साहित्यिक व्यक्ति बाहेक अरूले स्तर पनि नचिन्ने भएका कारण पाठकहरू चाहिँ केलाई कविता मान्ने भन्ने कुराको अन्यौलमा छन् । राम्रा कविताका पुस्तकले तुरून्तै तातो बजार नपाए पनि विस्तारै बिकिरहन्छन् । सामान्य पाठकका लागि चाहिँ केदारमान व्यथित र गोपालप्रसाद रिमाल उस्तै कोटीका लाग्छन् । यसो हुनुमा मिडिया र साहित्यका नाममा भाषण दिँदै हिँड्ने वर्गको पनि हात छ । कविताको असली बजार त सधैँ सुस्त र हल्लाभन्दा केही पर हुन्छ ।
तपाईंको लेखनमा आउने विचारको मूलस्रोत के हो ?
मेरो दृष्टिकोणमा लेखकले चाहेको र नपाएको संसार वा वस्तु नै मुख्य विषय हुन् । मैले समाज जस्तो बनोस् भन्ने चाहन्छु, त्यस्तो नपाएपछि मभित्रको एउटा सचेत मान्छेले सिर्जना गर्न उक्साउँछ । समाज र मानव सभ्यताका विविध विषय अनि तिनका समस्या नै मेरा मुख्य विषय हुन् ।
कवि कविताजस्तै असल हुनुपर्छ कि जरूरी छैन ? कि यो संभव छैन ? आफ्नो जीवन अनुभवसमेत मिसाएर भन्दा ……
पहिला म पनि हिन्दी फिल्मको नायकजस्तो आदर्श जीवनको कल्पना गर्थेँ । वामपन्थी स्कुलिङ्ले पनि त्यही सोचलाई बल दियो । तर, जीवन कम्युनिष्टहरूले कार्यकर्तालाई सिकाएको आदर्शजस्तो नहुने रहेछ । कवि पनि समाजको मान्छे नै हो । मंगल ग्रहबाट झरेको होइन । तै पनि कवि समाजका सामान्य मान्छेभन्दा संवेदनशील हुन्छ र सही ठाउँमा टेक्ने प्रयास गर्छ जस्तो लाग्छ ।
सार्वजनिक क्षेत्रका व्यक्ति र साथीहरूले आदर्श पालन गर्नसकेको देख्नुहुन्छ ?
–अहँ, छैन । पछि जोगी बनेका दुई जना पत्रकारको जीवनका नमिठा घटना यहाँ सान्दर्भिक होलान् । तीमध्ये एकजना विशाल खत्रीको दुई वर्षअघि मृत्यु भयो । अर्का साथी अच्युतम भट्टराई अहिले नेपाल र भारतका विभिन्न ठाउँमा गेरू वस्त्र लगाएर डुलिरहन्छन् । यी दुवै साथीलाई यहाँको तथाकथित मूलधारको पत्रकारितामा स्थापित मान्छेले जोगी बनाएका हुन् । अझ अच्युतमजीलाई त त्यो समयमा एउटा मिडिया संस्थामा महिनाको पाँच हजार रुपैयाँको काम माग्दा पनि दिइएन । रमाइलो त के भने त्यही उनलाई काम दिनुहुन्न भन्ने मान्छेले उनलाई सन्यासी वस्त्रमा देखेपछि ‘त्यो अच्युतमको त खुस्किएछ है’ भन्दै प्रचार गर्‍यो । उनलाई काम दिनुपर्छ भन्दै प्रस्ताव लैजाने मान्छे चाहिँ म थिएँ । उनै अच्युतम आफूले पत्रकारिताको मूलधारमा ल्याएका मान्छेले ६ महिनापछि त्यो पत्रिकाबाटै निस्कासन गरिएका थिए । त्यो बेलाको एउटा राम्रै दैनिक पत्रिकाबाट । यो घटनाका कारण पत्रकारिता क्षेत्रप्रतिको मेरो धारणा नै फेरियो । हामी वर्षौसम्म यही पेसामा लागे पनि चाकडी र बडप्पन देखाउन नसकेमा यही क्षेत्रबाट ‘आउटसाइडर’ बनाइन्छौँ । स्वच्छ प्रतिस्पर्धा, हार्दिकता त छैन नै, न्यूनतम मानवीय व्यवहार पनि छैन । पत्रकारिता र साहित्यमा लागेका हामी राजनीतिलाई गाली गर्छौँ र दुनियाँ फेर्ने कुरा गर्छौँ । तर, आफैँ चाहिँ कहिल्यै फेरिँदैनौँ । श्रमजिवीलाई काम गरेको तलब दिँदैनौँ र त्यसबापत दु:ख पाउने मान्छेलाई हाँस्य पात्र बनाउँछौँ । आफू चाहिँ उन्नति गर्छौँ र कर्मचारी पत्रकारको शोषण गर्छौँ । यो प्रवृत्ति वामपन्थीहरूमा अझ बढी छ ।
प्रस्तुति : दीपक सापकोटा
[email protected]

प्रतिक्रिया