काठमाडौं, १५ असार । राजधानीमा शुक्रबार अन्तरविद्यालयस्तरीय बालचित्रकला एवं कलात्मक ब्यानर प्रतियोगिता आयोजना गरिएको छ ।
सोसल मिडिया दुरुपयोगविरुद्धको साताव्यापी कलात्मक राष्ट्रिय अभियानअन्तर्गत मिडिया फर वेलफेयर र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान(नाफा)ले आयोजना गरेको प्रतियोगितामा राजधानीका २५ विद्यालयका सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । विद्यार्थीले चित्रकला एवं कलात्मक ब्यानरका माध्यमबाट सोसल मिडिया दुरुपयोगविरुद्ध जनचेतना फैलाउने भाव झल्कने कलात्मक चित्र क्यानभासमा उतारेका छन् ।
प्रतियोगी चित्र तथा ब्यानरको मूल्यांकन गरी एक विशेष कार्यक्रमबीच विजेतालाई पुरस्कृत गरिने र उत्कृष्ट १० वटा चित्र र ब्यानरलाई प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । हरेक वर्ष जुन ३० का दिन विश्वभर मनाइने सोसल मिडिया डेको अवसर पारेर मिडिया फर वेलफेयरले प्रयोगकर्तालाई सचेत गर्ने उद्देश्यले गत वर्षबाट ‘म दुरुपयोग गर्दिनँ’ शीर्षकमा अभियान सुरु गरेको हो ।
प्रतिक्रिया