मदनकी छोरी हुन पाएकोमा गर्व लाग्छ

Usha-Kiran-Bhandaryस्कुल बिदा थियो । बहिनी र म मालीगाउँस्थित फुपूको घर गएका थियौँ । त्यहाँबाट एक्कासि हामीलाई नक्सालस्थित घरमा ल्याइयो । किन हो, थाहा पाएका थिएनौँ । घरको परिदृश्य अरू बेलाको भन्दा फरक थियो । मान्छे जम्मा भएका थिए, सबै चिन्तित देखिन्थे । मम्मी रोइरहनुभएको थियो । दौडँदै गएर सोधेँ– मम्मी, किन रुनुभएको ? कसैले केही जवाफ दिएन । सबै आफन्त जम्मा भएका थिए । कसैले मलाई पत्रिका देखाए । त्यहाँ बुबा चढ्नुभएको गाडी दुर्घटना भएको समाचार रहेछ । सबै जना रोइरहे पनि म भने सामान्य दुर्घटना होला भन्ने सोचिरहेकी रहिछु । ०५० जेठ ३ गते त्यो दुर्घटना भएको थियो । उहाँ काठमाडौंबाहिरको यात्राबाट फर्कंदै हुनुहुन्थ्यो । हिँड्ने बेलामा पोखरा जाने भन्नुभएको याद छ । त्यही बेला अन्तिमचोटि भेट भएको थियो । स्कुल बिदा भएकाले हामी दिदीबहिनीचाहिँ फुपूको घर गएका थियौँ ।
४ वा ५ गते कति हो, राम्ररी याद छैन । मम्मीसँगै म पनि घरबाट हिँडेँ । बुबा दुर्घटनामा पर्नुभएकाले अस्पताल हिँडेका हौँला भन्ने सोचिरहेकी थिएँ । तर, हामीलाई त रंगशाला पो पुर्‍याइयो । मानिसको ठूलो भीड थियो । यति बेलासम्म पनि मलाई बुबाको निधन भइसक्यो भन्ने थाहा थिएन । मम्मीले उहाँको शवमा श्रद्धाञ्जली दिनुभयो । मलाई पनि श्रद्धाञ्जलीका लागि लगियो । मलाई विश्वासै लागेन– त्यो लडिरहेको निष्प्राण शरीर बुबाकै हो भन्ने । पानीका कारणले होला, अनुहार पूरै नीलो थियो । सुरुमा त यो अरू नै कसैको शव हो, बुबाको होइन भन्ने लाग्यो । जम्मा ८ वर्षकी न थिएँ, सबै कुरा बुझ्दैनथेँ । तर, पनि अब बुबा फर्कनुहुन्न भन्ने थाहा भयो । मृत्यु भनेको के हो, बुझिसकेकी रहिछु । बहिनी त झन् सानी, उसलाई केही थाहा थिएन । मलाई पनि सबै कुरा सम्झना छैनन् ।
सानैदेखि बुबामम्मीसँग लामो समय बस्न पाइएन । उहाँहरू भूमिगत भएकाले बहिनी र म मामाघर बस्थ्यौँ । हामीलाई भेट्न कहिलेकाहीँ आउनुहुन्थ्यो । सानैदेखि बुबा बाहिरबाहिरै बसेकाले होला, उहाँ घरमा हुँदा सामान्य नै लाग्थ्यो । तर, बाहिर हुँदा पनि कहिले आउनुहोला भन्ने लाग्दैनथ्यो । त्यो पनि हाम्रा लागि सामान्य कुरा बनिसकेको थियो । सानैदेखि त्यस्तै वातावरणमा बानी परेकाले होला, बुबाले समय दिनुभएन भन्ने नै हामीलाई लाग्दैलागेन । उहाँ लामो समय घर नआउनु हाम्रा लागि सामान्य भइसकेको थियो ।
बुबा छँदा घरमा सधैँजसो बैठक भइरहन्थ्यो । माधव अंकल, केपी अंकल, प्रदीप नेपाल, ईश्वर अंकल, झलनाथ अंकल आउनुहुन्थ्यो । कोठा बन्द गरेर बैठक बस्नुहुन्थ्यो । हामीलाई चासो नै हुँदैनथ्यो । मम्मी अनेमसंघको कार्यक्रममा बाहिर गइरहनुहुन्थ्यो । बहुदल आएपछि मात्रै हामीसँगै बस्न पायौँ । परिवारका चारै जना सँगै यात्रा गरेको एउटा मात्रै पल याद छ मलाई । ‘अब काठमाडौं जाने, उतै बस्नुपर्छ’ विराटनगरबाट बसमा आएका थियौँ । बुबा विदेश पनि जानुभयो । चीनबाट फर्कंदा बहिनी र मलाई क्याटवरी ल्याइदिनुभयो । दुर्घटनाको केही दिनअघि कलकत्तामा भएको सेमिनारबाट फर्कंदा कुर्ता र पाइजामा ल्याइदिनुभएको थियो ।
बुबा जीवितै छँदा पनि हामीले पूरै परिवारसँगै रहेर धेरै समय बिताउन पाएनौँ । बहुदल नआउँदा भूमिगतकाल, आएपछि पनि पहिलेभन्दा बढी राजनीतिक व्यस्तता । त्यसैले बुबाले हामीलाई दिने माया र समय दुवै निकै थोरै लाग्थ्यो । मलाई त बुबा हाम्रा लागि होइन, पार्टीका लागि हो भन्ने परिसकेको थियो । उहाँले घरमा छँदा पनि सांगठनिक भेटघाट र अध्ययन–लेखनमै बढी व्यस्त हुनुपथ्र्यो । परम्परागत परिवारमा नहुर्केको र बाहिरी साथीहरूसँग खासै घुलमिल नभएकाले होला । मैले बुझेकी थिएँ– सबैका बुबाको व्यस्तता यस्तै नै हुन्छ होला ।
Madan-Bhandary's-Famlyसँगै बस्न थालेको केही वर्षमै बुबा रहनुभएन । उहाँ हुनुभएको भए हाम्रो परिवार कसरी अगाडि बढ्थ्यो होला भनेर व्यक्तिगत जीवनमा कुनै सोचाइ बनाइएन पनि । तर, सबैले उहाँका बारेमा कुरा गरेको सुन्दा लाग्छ– यो देशको अवस्था भने यस्तो हुँदैनथ्यो होला । बुबालाई पारिवारिकभन्दा पनि राष्ट्रिय महत्त्वका दृष्टिले धेरै मिस गर्छु । राष्ट्रिय रूपमा बेलाबेला आउने समस्यामा नेताहरू बैठक बस्छन् तर निष्कर्ष निकाल्न सक्दैनन् । सम्झन्छु– बुबा हुनुभएको भए पक्कै कुनै न कुनै निष्कर्ष निकालेर समस्या समाधान गर्नुहुन्थ्यो होला । बुबाको क्षमता के–कति थियो, मैले पढेर मात्र बुझँे । उहाँसँगै काम गर्नेलाई अझै धेरै थाहा होला । त्यसैले त कुनै समस्या आउँदा मदन हुनुभएको भए यस्तो हुँदैनथ्यो भनेर सम्झन्छन् मान्छे । यी सबै कारणले उहाँ मुलुकका लागि आवश्यक व्यक्तित्व हुनुहुन्थ्यो भन्नेचाहिँ मैले बुझेकी छु । नत्र किन सबैले उहाँको नाम लिन्थे र ?
बुबाले विश्वमै कम्युनिज्म धरासयी भइरहेका बेला ‘जबज’ प्रतिपादन गरेर जसरी कम्युनिस्टलाई सञ्जीवनी दिनुभयो, अहिले देशमा देखिएका समस्यामा पनि त्यस्तै नयाँ कुरा ल्याएर मुलुकलाई अगाडि बढाउनुहुन्थ्यो होला, जीवित रहनुभएको भए । बुबाको याद आउँदा मुलुक र उहाँको पार्टी पनि जोडिएर आउँछन् स्मृतिमा । उहाँ हुनुभएको भए यतिबेला एमालेमा देखिएको समस्या पनि अन्त्य भइसकेको हुन्थ्यो होला । पारिवारिकभन्दा पनि राजनीतिक रूपमा उहाँको अभाव महसुस हुन्छ, जीवित रहँदा पनि पारिवारिकभन्दा राजनीतिक काममै बढी व्यस्त हुनुभएको देखेकाले होला ।
अब म पनि विस्तारै राजनीति बुझ्न थालेकी छु । बुबाआमाको विचारलाई सम्मान गर्नुपर्छ, सकेजति सहयोग गर्नुपर्छ भन्ने लाग्छ । तर, म बुबाको राजनीतिक सपना पूरा गर्न सक्ने हैसियतकी भने हुइनँ । दक्षिण एसियाको राजनीति पारिवारिक वा पुख्र्यौली रूपमा चल्ने गरेको परम्परा छ । नेपालमा पनि त्यस्तै हुनुपर्छ भन्नेमा म विश्वस्त छैन ।
बिहेको क्षण उहाँलाई धेरै सम्झेँ । मैलेभन्दा पनि बढी त मम्मीले सम्झनुभयो सायद त्यस दिन । उहाँको मुहार देख्दा त्यस्तै महसुस गरेकी थिएँ । बुबा हाम्रो जीवनको महत्त्वपूर्ण पार्ट हुनुहुन्छ । अन्य मान्छेका लागि उहाँलाई सम्झन कुनै अवसर वा राजनीतिक संकट आउनुपर्ला । तर, हामी सधैँ सम्झन्छौँ । सम्झनेभन्दा पनि बिर्सेकै कतिखेर हुन्छौँ र ? सधैँ लाग्छ– उहाँ हामीसँगै हुनुहुन्छ । कहिलेकाहीँ मम्मी, फुपू, काका, ठुलो बुबालाई उहाँको बाल्यकाल, युवावस्थाबारे सोधिरहन्छु ।
मलाई याद छ, बुबा हामीलाई राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्थ्यो । राति कहिलेकाहीँ बहिनी र मलाई कथा पनि सुनाउनुहुन्थ्यो । ती कथा कस्ता थिए, अहिले सम्झना छैन । तर, सुनाउनु हुन्थ्यो । कार्टुन बनाएर देखाउनु हुन्थ्यो । बुबामम्मी दुवैले हामीलाई कहिल्यै पिट्ने वा गाली गर्नुभएन । गल्ती गरे सम्झाउनुहुन्थ्यो । सम्झाएपछि आत्मग्लानि हुन्थ्यो, यस्तो काम गर्न नहुने रहेछ भनेर ।
बुबा राष्ट्र र जनताप्रति निष्ठावान् हुनुहुन्थ्यो । जति समय सँगै बित्यो, उहाँबाट माया नै पायौँ । एक दिन मैले कापीमा कुल्चिएछु, हातमा उठाएर ढोगेँ । बुबाले सोध्नुभयो– के गरेको नानी ? मैले भनेँ– कापीकिताब त भगवान् हो, नढोगे पाप लागिहाल्छ नि † उहाँले सम्झाउनुभयो– होइन, यस्तो कुराले पाप लाग्ने होइन । हो, यिनीहरूलाई सम्मानपूर्वक सम्हालेरचाहिँ राख्नुपर्छ । कापीकलममा भगवान् हुँदैन । भगवान् भनेको त जनता हो । जनताको सेवा गर्नुपर्छ । बुबामा आफ्नो जीवनप्रतिको जुन मूल्यमान्यता थियो, त्यो स्वस्फूर्त रूपमा आउँथ्यो । मैले बुबासँग बसेर खिचेको फोटो एउटा मात्र छ । एक त त्यति बेलाको भूमिगत राजनीतिमा सुरक्षाका दृष्टिले खिच्न मिलेन । अर्को कुरा प्राविधिक सहजता पनि थिएन, त्यसैले हो । सम्झन्छु– अहिले जस्तै हातहातमा मोबाइल र क्यामेरा त्यतिबेला पनि हुन्थे त उहाँसँगका फोटा कति धेरै हुँदा हुन् मसँग †
त्यतिबेला बुझेकी थिइनँ, अहिले बुझ्दै छु । मदन भण्डारीको सिर्जना ‘जनताको बहुदलीय जनवाद’ ले कम्युनिस्ट आन्दोलनलाई नयाँ रूप दियो भन्छन् धेरैले । तर, उहाँको सिर्जनाले सँगसँगै उहाँमाथि खतरा बढाइदिएछ । यी कुरा मलाई हो जस्तो लाग्छ, गहिरिएर सोच्दा । तर, दु:ख लाग्छ, एमाले आज पनि जबज लागू गर्ने अवस्थामा छैन । भन्न त भन्छ– जबजको प्रयोग गर्नुपर्छ । तर, कार्यान्वयन गर्दैन । जबज मन्त्रमा उच्चारण गर्ने शब्दजस्तो मात्र भएको छ । मदन भण्डारीको योगदान गौरवशाली छ भनेर वक्तव्य जारी गर्नेभन्दा त्यसलाई सिर्जनात्मक र वैज्ञानिक रूपमा प्रयोग गर्ने हो भने एमालेले आफूलाई माथि उठाउने सम्भावना अझ धेरै बढ्छ ।
मदन भण्डारीकी छोरी भएकोमा गर्व लाग्छ । यदाकदा बुबाको कामको आलोचना भए पनि उहाँको आचरण र नैतिकतामाथि कसैले औँला ठड्याउन सक्दैन । यतिबेला कम्युनिस्ट पार्टीका अन्य नेता र उनीहरूका सन्तानबारे आएका आलोचना सुन्दा मलाई मदनकी छोरी भएर जन्मेकोमा जुन गर्व र सन्तुष्टि छ, त्यो कसैले पाउन सक्दैन । आमरूपमा सबैले सामान्य व्यवहार गर्छन् । जब मदनकी छोरी भनेर चिन्छन्, त्यो व्यवहार विशेष हुन थाल्छ । त्यतिबेला लाग्छ– बुबाको दुर्घटनाले दु:खी बनेका शुभचिन्तक अझै थुप्रै रहेछन् । उहाँलाई गरिने माया र श्रद्धामा कुनै कमी आएको रहेनछ । सबै नेताले नपाउने माया बुबाले पाउनुभएको छ । अब माया र सम्झना मात्र गरेर हुँदैन, विचारलाई व्यवहारमा उतार्नुपर्छ । मदन भण्डारीको आत्मालाई फूल र मालाले हैन, विचार र व्यवहारले सम्मान गरौँ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया