नेपाललाई शैक्षिक केन्द्रको हब बनाउन सकिन्छ : खनाल

काठमाडौं, १४ असार । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले नेपाललाई शिक्षाको अन्तर्राष्ट्रिय हब बनाउन सकिने बताएका छन् ।

बिहीबारबाट सुरु भएको शैक्षिक मेलाको उद्घाटन गर्दै खनालले गणतन्त्रलाई संस्थागत गरेर सामाजिक आर्थिक क्षेत्रको विकाससँगै शिक्षा क्षेत्रको पनि विकास हुने बताए । ‘मंसिरमा निर्वाचन गरेर संविधान बन्यो भने सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रको झन् विकास हुन्छ,’ उनले भने, ‘अनि नेपाललाई शैक्षिक केन्द्रको अन्तर्राष्ट्रिय हब बनाउन सकिन्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्राविधिक विषयहरुको शिक्षा नभएका कारण विद्यार्थी विदेश जान बाध्य भएको बताए । ‘हामीसँग प्रयाप्त संख्यामा प्राविधिक कलेज छैनन् । अनि हाम्रा विद्यार्थी हरेक वर्ष अध्ययनका लागि बाहिर जान्छन्,’ उनले भने ।
जसरी डाक्टर अध्ययनका लागि विदेशबाट विद्यार्थी आउँछन्, त्यसैगरी अन्य विषयका लागि पनि विद्यार्थी ल्याउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थी बाहिर मात्र नपठाएर भित्र्याउन पनि पहल गर्नुपर्ने बताए । इक्यानका अध्यक्ष राजेन्द्र बरालले मेला विदेश जान विद्यार्थीलाई परामर्श दिने मात्र नभएर स्वदेशी शिक्षाको बारेमा पनि जानकारी गराइने बताए । ‘हाम्रा लागि नीति ल्याउनुपर्‍यो हामी विदेशबाट हजारौँ विद्यार्थी भित्र्याउँछौँ,’ उनले भने ।
बरालले भारतीय मेडिकल काउन्सिलसँग मात्र सम्बन्धन लिए वार्षिक हजारभन्दा बढी विद्यार्थी नेपाल आउन सक्ने दाबी गरे ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि १६ असारसम्म चल्ने सातौँ शैक्षिक मेलामा स्वदेशी र विदेशी शैक्षिक संस्थाले सहभागिता जनाएका छन् । मेलामा १ सय ८१ स्टल रहेका छन् ।
नेपाली विद्यार्थीलाई स्वदेशी तथा विदेशी शैक्षिक संस्थाका बारेमा एक्कै स्थानमा जानकारी दिने उदेश्यले मेला आयोजना गरिएको इक्यानका उपाध्यक्ष तथा मेला संयोजक विष्णुहरि पाण्डेले बताए । मेलाको माध्यमबाट विद्यार्थीलाई शैक्षिक गतव्य छनोट गर्न प्रभावकारी हुने संयोजक पाण्डेले बताए ।
मेलामा १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा उच्च शिक्षा अध्ययनका लागि विदेश जान अगाडि अपनाइने विभिन्न पक्षहरूको बारेमा जानकारी दिइनेछ ।

प्रतिक्रिया